आन्दाेलनमा उत्रेका सरकारी डाक्टरलाई चिकित्सक संघकाे साथ : माग सम्बोधन गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम

 चैत २८, २०७५ बिहिबार १८:४८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल चिकित्सक संघले सरकारी चिकित्सकहरुको माग सम्बोधन गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ ।

नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले ७२ घण्टा भित्र पनि सरकारी चिकित्सकहरुको माग सम्बोधन नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिनुभयो । 

बिहीबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी उहाँले सरकारविरुद्धको आन्दोलनलाई झनै एकताबद्ध भएर अघि बढाउन पनि देशभरका सबै चिकित्सकहरुलाई आह्वान गर्नु भयो । सरकारले चिकित्सकहरुलाई पीडा दिने गरी गरिएको कर्मचारी समायोजन नसच्चिए देशभरका चिकित्सकहरु राजधानी बाहेक अन्य कुनै पनि ठाउँमा सेवाका लागि जान नसक्ने अध्यक्ष श्रेष्ठको भनाइ छ ।

संघले जबर्जस्ती समायोजन गरेर सरकारले चिकित्सकहरुलाई पीडा दिने, प्रहरी लगाएर दुर्व्यवहार गर्ने काम गरिरहेको भन्दै आपत्ति पनि जनाएको छ । स्थानीय सरकार मातहत रहने गरी सरकारले चिकित्सकहरुको पनि समायोजन गरेपछि त्यसको विरोधमा सरकारी चिकित्सकहरुले विगत ५ दिनदेखि आकस्मिक बाहेकका सरकारी अस्पतालका सबै सेवा बन्द गरी आन्दोलन सुरु गरेका छन । 

अध्यक्ष श्रेष्ठले चिकित्सकहरुको आन्दोलनप्रति नेपाल चिकित्सक संघको पूर्ण समर्थन रहेको उल्लेख गर्दै आफ्नो अडानबाट पछि नहट्न पनि आन्दोलनरत चिकित्सकहलाई आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया