प्रहरीलाई ३ लाख ५० हजार घुस दिन खोज्ने चालकसहित ३ पक्राउ

 बैशाख २, २०७६ सोमबार १५:२९:१२ | उज्यालो सहकर्मी

काठमाण्डौ - प्रहरीलाई ३ लाख ५० हजार घुस दिन खोज्ने दिल्ली–काठमाण्डौ रुट भएर चल्ने टुरिष्ट बसका चालकसहित ३ जना पक्राउ परेका छन् । 

प्रहरीलाई घुस दिन खोज्ने भारतको दिल्लीबाट काठमाण्डौ चल्ने ना ५ ख ४८४२ नम्बरको टुरिष्ट बसका चालक श्याम विश्वकर्मा, सुर्खेतकी दीपा राना र नुवाकोट ककनीका भरत तामाङलाई पक्राउ गरेर सोमबार सार्वजनिक गरिएको हो ।

झण्डै ५५ लाख ८८ हजार लत्ताकपडा अवैध रुपमा नेपाल भित्र्याउँदै गर्दा उनीहरुलाई प्रहरीले गएको चैत्र ३० गते साँझ काठमाण्डौको चमतीबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्त लामाले जानकारी दिनु भयो । 

बसमा लुकाएर राखेको अवैध लत्ता कपडा छुटाउन प्रहरीलाई घुस दिन सर्लाहीका चालक विश्वकर्माले ल्याएको ३ लाख रुपैयाँ पनि बरामद गरिएको छ । चालक विश्वकर्मालाई सो काममा सहयोग गर्ने तामाङसँग रहेको ५० हजार नगद पनि बरामद गरिएको परिसर प्रमुख लामाले बताउनु भयो ।

प्रहरीले भारतबाट अवैध लत्ता कपडा नेपाल भित्रँदैछ भन्ने सूचनाको आधारमा टुरिष्ट बसमा खनतलासी गरेको थियो । उनीहरुको साथबाट थप १ लाख नगद पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया