कांग्रेसले वैशाख ११ देखि राष्ट्रिय जागरण अभियान थाल्ने

 बैशाख ३, २०७६ मंगलबार १७:४८:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले यही वैशाख ११ देखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । 

नेपाली कांग्रेसले मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी वैशाख ११ गतेबाट राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने औंपचारिक जानकारी गराएको हो ।

सरकारले संघीयताको मर्म अनुसार काम गर्न नसकेको कुरा आम जनतालाई जानकारी दिन राष्ट्रिय जागरण अभियान संचालन गर्न लागिएको पार्टीका उपसभापति विमलेन्द्र निधिले बताउनु भयो ।

तीन चरणमा सञ्चालन हुने राष्ट्रिय जागरण अभियान अन्तरगत पहिलो चरणको एक महिने कार्यक्रम ७७ जिल्लामा हुनेछ । त्यसैगरी दोस्रो चरणको कार्यक्रम भदौ २३ गतेदेखि असोज ७ गतेसम्म ३ सय ३० वटै निर्वाचन क्षेत्रमा सञ्चालन हुनेछ भने तेस्रो चरणको कार्यक्रम पुसको दोस्रो साता सबै पालिकामा हुने पनि कांग्रेसले जनाएको छ ।

वर्तमान सरकारले मुलुकलाई समृद्ध बनाउन नसक्ने कुरा पनि आम पार्टी पंक्ति र जनतालाई सूसुचित गराउन सो राष्ट्रिय जागरण अभियान संचालन गर्नु परेको उपसभापति निधिले बताउनु भयो ।

फाइल तस्बिर

कांग्रेसले यस अभियानलाई प्रभावकारी बनाउन विघटित नेपाल विद्यार्थी संघलाई ब्युँताउने तथा तरुण दलको तदर्थ समितिलाई पूर्णता दिने पनि स्पष्ट पारेको छ । उपसभापति निधिले राष्ट्रिय जागरण अभियानलाई सफल बनाउन नेविसंघ र तरुण दललाई पनि वैधानिकता दिएर अभियानमा सहभागी गराउने पनि स्पष्ट पार्नुभयो ।

नेपाली कांग्रेसले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले देशलाई अघि बढाउन नसकेको निष्कर्ष निकाल्दै त्यसबारे जनतालाई सचेत गराउने भन्दै राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न लागेको हो । उपसभापति निधिले राष्ट्रिय जागरण अभियानको क्रममा पार्टीको नीति, कार्यक्रम र भावी योजनाबारे पार्टीका आम पंक्तिलाई जानकारी गराउने पनि बताउनु भयो ।

 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया