लाङटाङ पदमार्गकाे नाम डा.प्रल्हाद योञ्जन रेडपाण्डा पदमार्ग घोषणा

 बैशाख ३, २०७६ मंगलबार १७:५५:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – लाङटाङ पदमार्गको नाम परिवर्तन गरेर डा. प्रल्हाद योञ्जन रेडपाण्डा पदमार्ग नामकरण गरिएको छ । 

जिल्लाको स्याफ्रुदेखि क्यान्जिनसम्मको पदमार्गलाई मंगलबार डा. प्रल्हाद योञ्जन रेडपाण्डा पदमार्ग घोषणा गरिएको हो । रसुवाको सदरमुकाम धुन्चेमा सञ्चालन भइरहेको सातौँ लाङटाङ संरक्षण तथा पर्यटन उत्सव कार्यक्रमको अवसरमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले मंगलबार पदमार्गको घोषणा गर्नु भएको हो । 

पदमार्गको स्तरोन्नतिको लागि प्रदेश सरकारले पर्यटन विकास आयोजना मार्फत ५० लाख रुपैयाँ विनियोजन गरेको छ । पर्यटनको विकास र विस्तारका लागि पदमार्गलाई सुरक्षित, भरपर्दो र आकर्षक बनाउने सरकारी नीति रहेको छ । 

स्याफ्रुबेँसी-क्यान्जिन पदमार्गलाई हिमाली क्षेत्रको पर्यटन विकासका प्रणेता डा. योञ्जनले पुर्‍याएको योगदानको कदर स्वरूप पदमार्गको नामकरण गरिएको उहाँले बताउनुभयो । यो पदमार्गको दूरी २६ किलोमिटर रहेको छ । रसुवामा आउने पर्यटक मध्ये करिब ८० प्रतिशत लाङटाङ जाने गरेका छन् ।  

प्रदेश सरकारले २०७५-०७६ को नीति तथा कार्यक्रममा रसुवा जिल्लाको स्याफ्रुबेँसीदेखि लाङटाङ उपत्यकाको क्यान्जिन जाने पदमार्गलाई डा. प्रल्हाद योञ्जन रेडपाण्डा पदमार्ग नामकरण गरिने योजना राखिएको थियो । 

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया