राष्ट्रिय खेलकुद प्रतियोगिता : बास्केटबलमा पुरुषतर्फ आर्मी र महिलातर्फ पुलिस क्लब प्रथम

 बैशाख ४, २०७६ बुधबार १५:५६:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ -आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बास्केट बल प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ नेपाल पुलिस क्लब प्रथम भएका छन् ।

घोराही उपमहानगरपालिका वडा नम्बर १८ सालघारीमा गत चैत्र २८ गते देखि सुरु भएको प्रतियोगितामा ३ नम्बर प्रदेशलाई ५८-७६ स्कोरले हराउँदै त्रिभुवन आर्मी क्लब प्रथम भएको हो । प्रतियोगितामा ३ नम्बर प्रदेश दोस्रो हुन सफल भएको छ । त्यसैगरी गण्डकी प्रदेशलाई ५४-७४ स्कोरले पछि पार्दै नेपाल पुलिस क्लब तेस्रो भएको छ ।

यसैबीच महिलातर्फ प्रदेश ३ लाई २९-५४ स्कोरले पछि पार्दै नेपाल पुलिस क्लब प्रथम भएको छ । महिलातर्फ प्रदेश ३ दोस्रो भयो भने सुदूरपश्चिम प्रदेशलाई ३९-५१ स्कोरले पछि पार्दा त्रिभुवन आर्मी क्लब तेस्रो भएका छन् । प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय खेलाडी गरी १० समूह प्रतिस्पर्धामा उत्रिएका थिए ।

प्रतियोगिता आज सकिएकाे छ । दाङ जिल्ला खेलकुद विकास समितिका सदस्य टोपेन्द्र थापाको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा विजयी खेलाडीहरुलाई प्रमाणपत्र र मेडल प्रदान गरिएको छ ।

कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले खेलाडीमा उत्साह ल्याउन र पूर्वाधार तयार गर्न स्थानिय सरकार लागिपरेको बताउनुभयो । राष्ट्रिय खेलहरु दाङमा हुनु सबैका लागि सौभाग्य भएको भन्दै आगामी दिनमा थप लगानी बढाउने प्रतिबद्धता जनाउनुभयो । 

अन्तिम अपडेट: फागुन २७, २०८०

तपाईको प्रतिक्रिया