निजी विद्यालयका लागि ताेकेकाे शुल्क तत्काल खारेज गर्न काठमाण्डाै महानगरपालिकासँग माग

 बैशाख ४, २०७६ बुधबार १८:५३:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल अभिभावक महासंघले निजी विद्यालयका लागि तोकेको शुल्क तत्काल खारेज गर्न काठमाण्डाै महानगरपालिकासँग माग गरेको छ । 

नेपाल अभिभावक महासंघका संयोजक सुप्रभात भण्डारीले ३० प्रतिशत वृद्धि हुनेगरी तोकिएको त्याे शुल्क तत्काल खारेज गर्न काठमाण्डाै महानगरपालिकासँग माग गर्नु भएको छ । उहाँले सरोकारवाला निकायसँग छलफल नै नगरी शुल्क वृद्धि गरेर आम अभिभावकहरुलाई मारमा पार्ने काम स्थानीय सरकार आफैले गर्न थालेको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो ।

बुधबार काठमाण्डाैमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले अभिभावकहरुले निजी विद्यालयमा निःशुल्क पढाउन नचाहेको भन्दै शुल्क अत्याधिक वृद्धि गर्ने काम नरोके काठमाण्डाै महानगरपालिकाविरुद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिनुभयो ।

कार्यक्रममा बोल्दै उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)का अध्यक्ष रमेश सिलवालले स्थानीय सरकारले  शैक्षिक वातावरण नै धमिल्याउने गरी निजी विद्यालयहरुको शैक्षिक शुल्क तोक्ने गरेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले शुल्क निधारण गर्दा सरोकारवाला निकायसँग व्यापक छलफल गर्न पनि सबै स्थानीय तहको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

काठमाण्डाै महानगरपालिकाले निजी क्षेत्रका विद्यालयहरुको शुल्क ३० प्रतिशतले वृद्धि गरेकोमा सर्वत्र आलोचना हुँदै आएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया