चिनियाँ राष्ट्रपतिकाे निमन्त्रणामा राष्ट्रपति भण्डारी चीन भ्रमणमा जाँदै

 बैशाख ६, २०७६ शुक्रबार १६:५५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - चिनियाँ राष्ट्रपति सी जिङपिङको विशेष निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारी २४ अप्रिलदेखि चीन भ्रमणमा जानु हुने भएकाे छ ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले बेइजिङमा हुने दोस्रो बेल्ट एण्ड रोड फोरमको बैठकमा उपस्थिति जनाउनुको साथै सम्बोधन पनि गर्नुहुनेछ ।

राष्ट्रपति भण्डारी त्यहाँ समकक्षी सी जिङपिङले आयाेजना गर्ने भोजमा पनि सरिक हुनुहुनेछ । यस्तै उहाँले अन्तर्राष्ट्रिय पुष्प प्रदर्शनीमा भाग लिँदै त्यहाँ नेपालीहरुले राखेका स्टलहरुको अवलोकन गर्ने कार्यक्रम पनि रहेकाे छ ।

त्यस्तै राष्ट्रपतिकाे भ्रमणमा नेपाल र चीनबीच केही महत्वपूर्ण विषयहरुमा द्विपक्षीय सम्झाैता हुने पनि बताइएकाे छ । उहाँले त्यहाँ वरिष्ठ चिनियाँ नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम छ । उहाँले बेइजिङमा नेपाल र चीनबीचको व्यापारबारे एक संयुक्त बैठकलाई पनि सम्बोधन गुर्नहुनेछ । 

बेइजिङस्थित नेपाली दूतावासले आयाेजना गर्ने कार्यक्रममा पनि उहाँले उपस्थिति जनाउनुहुनेछ । बेइजिङबाट नेपाल फर्किने क्रममा उहाँले चीनको सान्सी प्रान्तको राजधानी सियान, तिब्बतको राजधानी ल्हासा र ती दुइटै प्रान्तका प्रमुखसँग पनि भेटवार्ता गर्नुहुनेछ ।

राष्ट्रपतिको भ्रमणमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सांसद सदस्य र उच्चपदस्थ सरकारी कर्मचारी र सञ्चारकर्मीहरु पनि सहभागी हुनेछन् । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया