धुन्चे–गोसाईंकुण्ड केबलकार निर्माण गरिने

 वैशाख ८, २०७६ आइतबार १०:४०:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – धार्मिकस्थल गोसाईंकुण्डमा केबलकार निर्माण गरिने भएको छ । गोसाईंकुण्डसम्म केबलकार निर्माणका लागि तीन ठाउँबाट प्रक्रिया अघि बढेको भए पनि धुन्चे–गोसाईंकुण्ड केबलकार निर्माण हुने निश्चित भएको हो । 

लामो समयदेखि चर्चामा रहेको धुन्चे–गोसाईंकुण्ड केबलकार निर्माणका लागि व्यवहारिक रूप दिन लागिएको वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो । जैविक विविधताको संरक्षण गर्दैगर्दा यसको उपयोग र लाभ पनि लिन पर्ने उहाँको भनाइ थियो । 

रसुवाको सदरमुकाम धुन्चेमा सञ्चालन गरिएको सातौँ लाङटाङ संरक्षण तथा पर्यटन उत्सव तथा दशौँ रेडपाण्डा ट्रफी भलिबल प्रतियोगिता समापन कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले पर्यटनको विस्तारका लागि केबलकार निर्माण आवश्यक देखिएकाले निर्माणमा सहजीकरण गर्ने बताउनुभएको हो ।

जिल्लाको गोसाईकुण्ड गाउँपालिकाले पठाएको फाइल मन्त्रालयमा पुगेको छ । धुन्चेदेखि गोसाईकुण्डसम्म केबलकारको दूरी साढे ६ किलोमिटर रहने छ । दुई वटा स्टेशन रहनुका साथै २८ वटा टावर राख्ने प्रस्ताव गरिएको छ । ५० वटा प्यासेन्जर क्याविन राख्न प्रस्ताव गरिएको गोसाईंकुण्ड गाउँपालिकाले जनाएको छ ।

गोसाईंकुण्डमा केबलकार निर्माणका लागि प्रस्ताव गरिएको अन्य क्षेत्रमध्ये धुन्चे गोसाईकुण्ड केबलकार छोटोे रहेको र सस्तोमा निर्माण हुने गाउँपालिकाले जनाएको छ । केबलकार निर्माण गर्न एक अर्ब ८५ करोड लाग्ने गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताउनुभएको छ । 

जिल्लाको पर्यटनको विकास र विस्तारका लागि केबलकार निर्माण अति आवश्यक रहेको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख २, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया