राष्ट्रपति भण्डारीको भ्रमणले नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा पुग्छ : मन्त्री ज्ञवाली

 वैशाख ९, २०७६ सोमबार १९:११:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वैशाख ११ गतेदेखि सुरु हुने राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक राजकीय चीन भ्रमणपछि नेपाल–चीन द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा पुग्ने बताउनु भएको छ  । 

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीको चीन भ्रमणलाई नेपाल सरकारले विशेष महत्व दिएको स्पष्ट मन्त्री ज्ञवालीले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘उहाँको भ्रमणपछि नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध थप नयाँ उचाइमा पुग्छ ।’

उहाँले अघि थप्नुभयो, ‘राष्ट्रपतिको यो भ्रमणले सदियौंदेखि रहँदै आएको नेपाल–चीन सौहार्दपूर्ण सम्बन्धलाई अझै प्रगाढ बनाउने छ । चीनको विकाससँग नेपालको विकासलाई जोड्ने विभिन्न माध्यम र उपायहरुको खोजी गर्नेछ ।’

मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीले भ्रमणको दौरान दुईपटक सम्बोधन गर्ने कार्यक्रम रहेको पनि सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘बेल्ट एण्ड रोड इनिसिएटिभ फोरम, जहाँ सयभन्दा बढी राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरु सहभागी हुन्छन्, त्यसमा उहाँले दुईपटक सम्बोधन गर्नुहुनेछ । पहिलो उहाँले उद्घाटन सत्रमा उच्चस्तरीय भेलामा सम्बोधन गर्नुहुनेछ, र दोस्रो चिनियाँ राष्ट्रपति सी जिनपिङले सञ्चालन गर्ने राउण्ड टेबलमा सम्बोधन गर्नुहुनेछ ।’

मन्त्री ज्ञवालीले अप्रिल २९ तारिखमा चिनियाँ राष्ट्रपतिसँग द्विपक्षीय औपचारिक वार्ता गर्ने र त्यही दिन विभिन्न सन्धि, सम्झौता तथा प्रोटोकलमा हस्ताक्षर गर्ने पनि जनाउनुभयो । उहाँले भन्नुभयो, ‘त्यो दिन प्रोटोकलमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ ।’

त्यस्तै, मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीले चीनको प्राचीन शहर र चिनियाँ राष्ट्रपतिको गृहनगरसमेत रहेको सियानको भ्रमण गर्ने कार्यक्रम रहेको समेत मन्त्री ज्ञवालीले बताउनुभयो । उहाँले राष्ट्रपति भण्डारीले चीनको स्वायत्त क्षेत्र तिब्बतको ल्हासाको पनि भ्रमण गर्ने कार्यक्रम रहेको र भ्रमणको दौरान प्रान्तीय गभर्नरसँग भेटवार्ता गर्ने पनि जनाउनुभयो । राष्ट्रपति भण्डारीको भ्रमण र भेटवार्ताले नेपाल–चीन सम्बन्ध अझै उचाईमा बढाउने विश्वास रहेको पनि मन्त्री ज्ञवालीले सुनाउनुभयो । 

त्यस्तै, उहाँले नेपाल–चीन सम्बन्धमा अहिले कुनै समस्या नरहेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीबीच सौहार्दपूर्ण र समझदारीपूर्ण सम्बन्ध छ ।’ चीनसँग जोडिएर नेपालले जसरी लाभ लिनुपर्ने थियो त्यो भने लिन नसकेको विगत मन्त्री ज्ञवालीले कोट्याउनुभयो । 

उहाँले भन्नुभयो, ‘अब भने हामी चीनसँग सार्थक रुपमा आर्थिक लाभ लिनेगरि अघि बढ्छौं ।’ आफू यसअघि चीन भ्रमणमा जाँदा चिनियाँ समकक्षीसँगको भेटवार्तामा नै नेपाल–चीन विकासको ‘फ्रेमवर्क’ तय भैसकेको पनि ज्ञवालीले सुनाउनुभयो । त्यस ‘ट्रान्स हिमालयन मल्टि–डाइमेन्शनल कनेक्टिभिटी नेटवर्क’ अन्तर्गत सीमा वारपार रेल, सडकहरु, बन्दरगाहहरु, हवाई यातायात, सूचना प्रविधिलगायत थुप्रै विषयहरु पर्ने उहाँले सुनाउनुभयो ।
 

अन्तिम अपडेट: चैत १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया