कोलकाता नाइटराइडर्सलाई राजस्थान रोयल्सले ३ विकेटले हरायो

 बैशाख १२, २०७६ शुक्रबार ०:३२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले चौथो जित निकालेको छ । बिहीबार राति भएको खेलमा राजस्थानले कोलकाता नाइटराइडर्सलाई तीन विकेटले हरायो ।

टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ७५ रन बनायो । 

कोलकाताका लागि कप्तान दिनेश कार्तिकले अविजित ९७ रन बनाए । उनले ४९ बलमा सात चौका र नौ छक्का प्रहार गरेका थिए । यस्तै आन्द्रे रसेलले १४ तथा नितीश रानाले २१ रनको योगदान गरे । साथै सुभमन गिलले २१ रन बनाए ।

राजस्थानका लागि वरुण आरोनले २ विकेट लिँदा ओसाने थोमस, जयदेव उनादकट र श्रेयश गोपालले एक-एक विकेट लिए । 

जवाफमा राजस्थानले चार बल बाँकी हुँदा सात विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । बलियो सुरुवात गरेको राजस्थानले पहिलो विकेटका लागि ५३ रनको साझेदारी गरेको थियो । तर उसका मध्यक्रमका खेलाडीबीच राम्रो साझेदारी नहुँदा ९८ रनमा ५ विकेट गुमायो । जसमा अजिन्क्या राहाणे ३४, सञ्जु सामसन २२, कप्तान स्टिभ स्मिथ २, बेन स्टोक्स ११ तथा स्टुवार्ट बिन्नी ११ रनमा पेभेलियन फर्किए ।

त्यसपछि राजस्थानका श्रेयस गोपाल पनि १८ रनमा आउट भए । अन्तिममा रायन प्राग र जोफ्रा आर्चरले राजस्थानलाई जित दिलाए  । जसमा प्रागले ४७ रन बनाए भने आर्चरले अविजित २७ रन बनाए । 

अन्तिम ओभरमा राजस्थानलाई जितका लागि नौ रन आवश्यक थियो । जसमा आर्चरले एक चौका र एक छक्का प्रहार गरे ।

कोलकाताका लागि पियुश चावलाले तीन विकेट लिए ।  त्यस्तै सुनिल नारायणले २ विकेट लिँदा आन्द्रे रसेल र प्रसिद्ध कृष्णाले एक-एक विकेट लिए । 

जितसँगै राजस्थान रोयल्स पुच्छारबाट एक स्थानमाथि उक्लिएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया