दुबईमा पक्राउ परेका एनआरएन यूएईका अध्यक्ष श्रेष्ठ रिहा, चरित्र हत्या गर्न खोजिएको आरोप

 बैशाख १५, २०७६ आइतबार १६:३५:१७ | उमाकान्त पाण्डे

यूएई – दुबईमा पक्राउ परेका गैर आवसीय नेपाली संघ (एनआरएन) यूएईका अध्यक्ष रमेश श्रेष्ठ रिहा हुनु भएको छ । शुक्रबार पक्राउ परेका श्रेष्ठ आइतबार बिहान ११ बजे रिहा हुनुभएको हो । 

दुबईमा म्यानपावर व्यवसाय गर्दै आएका झापाका शकर श्रेष्ठ सँगको व्यवसायिक लेनदेनमा भएको समस्याका कारण आफूलाई पक्राउ गरिएको र कारोबार मिलाएर आफू रिहा भएको अध्यक्ष श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो । 

आफूले लिएको पैसा फिर्ता दिन दुई महिनापछिको चेक दिएको तर नगद दिन शंकर श्रेष्ठलाई गएको हप्ता नै आफ्नो कार्यालयमा चेक लिएर आउन भने पनि उहाँ नआएको र पक्राउ गराएर आफ्नो चरित्र हत्या गर्न खोजेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । तर यूएई प्रसाशनले आफूलाई सोधपछु गरेको र सकुशल रिहा गरेको श्रेष्ठले बताउनुभयो । 

झापाका शंकर श्रेष्ठले भने आफूसँगको आर्थिक लेनदेन दुई वर्षसम्म नमिलाएकाले प्रहरीमा उजुरी दिएको बताउनुभयो । आफूले कसैको चरित्र हत्या गर्न नखोजेको र आफ्नो सरोकार पैसा फिर्ता गराउनु मात्रै रहेको श्रेष्ठको भनाई छ । 

दुबै जनाले यूएईमा म्यानपावर व्यवसाय सञ्चालन गर्दै आएका छन् । रमेश श्रेष्ठ र व्यवसायिक साझेदारी गरिरहेका व्यवसायी शंकर श्रेष्ठबीच लामो समयदेखि कारोबारका विषयमा विवाद थियो । 

धुर्मुस–सुन्तली साँझ कार्यक्रम चलिरहेका बेला श्रेष्ठ कसैले बोलाएपछि बाहिरिनु भएको थियो । त्यसपछि श्रेष्ठ नफर्किएको र उहा पक्राउ पर्नुमा कार्यक्रमसँग कुनै सम्बन्ध नभएको भन्दै आयोजकले सामाजिक काममा विवाद ल्याउन षणयन्त्र भएको बताएको छ ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया