आगामी आर्थिक वर्षमा ५० अर्ब रुपैयाँ बजेट ल्याउने तयारीमा प्रदेश तीन सरकार

 बैशाख १७, २०७६ मंगलबार ८:२५:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

कवानपुर – प्रदेश नम्बर–३ सरकारले आगामी आर्थिक वर्षका लागि ५० अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ । 

बजेट तयार पार्नका लागि प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र प्रदेश नीति तथा योजना आयोगका कर्मचारी लागि परेका छन् । चालु आर्थिक वर्षका लागि बजेट खर्च गर्न नसकेर पिरलोमा परेको प्रदेश सरकारले ५० अर्ब बजेट ल्याउने तयारी थालेको छ । 

चालु आर्थिक वर्षमा अहिलेसम्म पूँजीगत र चालु खर्च गरी ३० प्रतिशतमात्र बजेट खर्च गरिएको छ । आउँदो असार महिनासम्ममा प्रदेश सरकारले पूँजीगत खर्च ५० प्रतिशत गर्न पनि नसक्ने देखिएको छ । तर, सबै रकम खर्च गर्ने प्रदेश सरकारको दाबी छ ।

आगामी आर्थिक वर्षको बजेटको तयारीमा जुटे पनि यस प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा लामो समयदेखि सचिव नभएका कारण धेरै काममा समस्या परेको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बताउनुभयो । संघीय सरकारका सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सचिव नपठाएको भन्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री ढुङ्गेल निकै आक्रोशित समेत बन्नुभयो ।

प्रदेशको राजस्व संकलनको महत्वपूर्ण हिस्सा मानिएको ढुङ्गा, गिट्टी, बालुवाको सबै कर स्थानीय तहले मात्र लिने भनेर संघीय सरकारले निर्णय गरेपछि आर्थिक श्रोत घट्नेमा चिन्ता पनि बढेको पनि मन्त्री ढुंगेलले बताउनुभयो । तर, राजस्व संकलनको दायरा बढाएर प्रदेश सरकारको आर्थिक स्रोत बृद्धि गर्ने तयारीमा पनि प्रदेश सरकार लागेको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया