रसुवागढी हाइड्रो पावर साञ्जेन जलविद्युतको साधारण शेयर बाँडफाँड

सभामुखलाई ६० कित्ता, ऊर्जा मन्त्रीलाई ४० कित्ता

 बैशाख १९, २०७६ बिहिबार १७:२२:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साञ्जेन जलविद्युत कम्पनी तथा रसुवागढी हाइड्रो पावरले निष्काशन गरेको साधारण शेयर ऊर्जा मन्त्रालयमा बिहीबार बाँडफाँड भएको छ ।  शेयर बाँडफाँड कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन पनि उपस्थित हुनुहुन्थ्यो ।

साञ्जेन जलविद्युत कम्पनीको शेयर बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार १० कित्ताका लागि आवेदन दिएका सबै ५९ हजार ४५५ जना आवेदकले माग गरेअनुसार शेयर बाँडफाँड गरिएको छ ।

त्यस्तै २० देखि २ हजार कित्तासम्म आवेदन दिएका २ लाख २९ हजार ४४२ आवेदकमध्ये ९१.२३ प्रतिशत अर्थात दुई लाख ९ हजार २३८ आवेदकले गोलाप्रथाबाट थप १० कित्ता गरी २० कित्ताका दरले शेयर पाएका छन् । 

त्यस्तै रसुवागढी हाइड्रोपावरले निष्काशन गरेको साधारण शेयर पनि बिहीबार नै बाँडफाँड गरिएको छ । रसुवागढीको साधारण शेयरमा आवेदन दिनेले धेरैमा ५० कित्तासम्म शेयर पाएका छन् । ४० कित्तासम्मको शेयर माग गर्दै आवेदन दिएका आवेदकले भने मागबमोजिम नै शेयर पाएका छन् । 

सभामुख र ऊर्जा मन्त्रीलाई पनि शेयर

सभामुख कृष्णबहादुर महरालाई जनताको जलविद्युत आयोजनाअन्र्तगत रसुवागढी जलविद्युत आयोजनाको ४० कित्ता, सान्जेन जलविद्युत आयोजनाको २० कित्ता शेयर परेको छ । त्यस्तै ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई रसुवागढी र सान्जेन जलविद्युत आयोजनाको २०–२० कित्ता शेयर परेको छ ।
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया