देखिन थाल्यो नेपालमा पनि चक्रवात ‘फानी’ को प्रभाव

 वैशाख २०, २०७६ शुक्रबार ७:३०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बंगालको खाडीमा बनेको चक्रवात फानीको प्रभाव नेपालमा पनि देखिन थालेको छ । यसकै प्रभावले पूर्वको थोरै ठाउँमा मेघगर्जनसहित पानी पर्न थालेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यसको प्रभाव विस्तारै बढ्दै जानेछ । महाशाखाका अनुसार यो चक्रवात नेपालमा नआउने तर भारतको ओडिशा, झारखण्ड, पश्चिम बंगाल हुँदै बंगलादेश जाने भएकाले पूर्वी र मध्य नेपालमा असर गर्ने देखिएको छ । 

चक्रवात फानीको प्रभावले पूर्व र मध्य क्षेत्रको हिमाली भेगमा भारी हिमपातको सम्भावना रहेकाले अबको तीन दिन पदयात्रा वा हिमाल आरोहणमा नजान मौसमविद्ले सुझाव दिएका छन् । 

यस्तै अहिले रुपन्देही, कपिलवस्तुलगायत प्रदेश ५ को सीमा क्षेत्रमा चट्याङ र हुरीबताससहित पानी पारिरहेको प्रणाली पनि पूर्वतिर सरिरहेको महाशाखाले जनाएको छ । आज देशभरिकै मौसम पूर्ण रुपमा खुल्ने सम्भावना कम रहेको मौसमविद् विभूति पोख्रेलले बताउनुभयो । उहाँका अनुसार पश्चिममा पश्चिमी वायु तथा पूर्व र मध्य क्षेत्रमा फानीसँगै स्थानीय वायुको प्रभावले हुरीबतास, चट्याङसहित हिमपात हुने सम्भावना छ ।

फानीको प्रभाव पर्सि दिउँसोसम्म नै पर्ने देखिएको अर्का मौसमविद् सुवास रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार फानी, पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले आज र भोलि देशभरिकै मौसम खुल्ने सम्भावना कम छ । खुलिहाले पनि फेरि बदली भई केही ठाउँमा पानी पर्ने छ भने हिमाली भेगमा हिमपात हुने मौसमविद्को अनुमान छ । 

तीव्र गतिमा ओडिशाकाे तटीय क्षेत्रमा ठाेक्किँदै चक्रवात ‘फानी’, ११ लाख मानिसलाई सुरक्षित स्थानमा सारियाे

‘फानी’ चक्रवातको प्रभाव, सावधानी अपनाउन मौसमविद्को आग्रह

 

 


 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया