पेडियाट्रिक सर्जरी : समस्या धेरै, तर डाक्टर कम

 बैशाख २६, २०७६ बिहिबार १२:३५:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

पेडियाट्रिक सर्जरी बालबालिकाकाको सर्जिकल अथवा बाल शल्य चिकित्सासम्बन्धी उपचार हो । बालबालिकाहरूको शारीरिक बनोट एवं मानसिक विकास तथा आवश्यकता फरक हुन्छन् ।

यिनका समस्या पनि धेरै संवेदनशील हुने गर्छन् र ठूला मान्छेहरूमा देखिने समस्याभन्दा बेग्लै र भिन्न प्रकारका हुन्छन् । यस्तो अवस्थामा उनीहरूलाई उपचार गर्ने पद्धति पनि विशेष प्रकृतिको हुने गर्छ । त्यो भनेको पेडियाट्रिक सर्जरी हो । यस विषयमा विना न्यौपानले ओम अस्पतालका मेडिकल डाइरेक्टर तथा पेडियाट्रिक सर्जन डाक्टर के पि देवकोटासँग कुराकानी गर्नु भएको छ । 

पेडियाट्रिक सर्जरी भनेको के हो ? 

खासमा पेडियाट्रिक सर्जरी भनेको बच्चको सर्जरी भनेर बुझिन्छ । तर अहिले यसको घेरा फराकिलो भएर बच्चा जन्मनुभन्दा पहिले आमाको पेटमा रहँदादेखि १४ वर्षसम्ममा पनि हुने गर्छ । अहिले कतिपय त्यस्ता अवस्था छन्, जुन आमाको पेटमा नै भनौं या भ्रुणमा नै अप्रेसन गर्नुपर्ने हुन्छ, त्यो पनि पेडियाट्रिक सर्जनले नै । 

कस्तो कस्तो अवस्थामा अप्रेसन गर्नुपर्ने हुन्छ ?

धेरैजसो ६० प्रतिशतभन्दा बढी त जन्मजात समस्याका कारण गर्नुपर्ने हुन्छ । जुन समसया उनीहरुले जन्मंदैमा लिएर आएका हुन्छन् । अरु एडल्टमा हुने रोगहरु पनि लाग्छन् । जस्तै एपेन्डिक्स, पत्थरी जस्ता रोगको उपचार गर्न पनि यो सर्जरी प्रयोग गर्नुपर्ने हुन्छ । 

यो अप्रेसन कसरी गरिन्छ ? 

नवजात शिशुमा गरिने सर्जरीमा एकैपटक गरेर पनि सम्भव हुँदैन । पटकपटक गर्नुपर्ने हुन्छ । तिनीहरुलाई दुई तीनपटक गरेर गर्नु पर्ने हुन्छ । फरक यो छ कि ठूलो मानिस र बालबालिकाको शरीरको बनावटको सानो ठूलो भए पनि उनीहरु भित्रको प्रकृया नै फरक भएकाले धेरै सावधान रहनु पर्छ । अप्रेसन गर्दा होसियारी त अपनाउनु पर्छ नै । तर बच्चाको सर्जरीमा धेरै होसियार भएर गर्नु पर्छ ।
 
सानो हँुदा अप्रेसन गर्याे भने पछि ठुलो हुँदा समस्या थपिने सम्भावना कत्तिको हुन्छ ?

जति पनि जन्मजात समस्याको सुरुमा अप्रेसन  गरिन्छ, त्यो ठूलो भएपछि दोहोरिने सम्भावना हुँदैन । तर कतिपय रोगहरु यस्ता पनि हुन्छन्, अप्रेसन गरेपछि पनि केही न केही असर हुन सक्छ र त्यसलाई स्पेशल केयर गरेर डाक्टरको निगरानीमा राख्नुपर्ने हुन्छ  ।  किनभने यो भनेको प्रकृतिले नगरेको काम डाक्टरले गर्ने हो ।  त्यसैले कुनै कुनै अवस्थामा हुन सक्छ, तर सबै अवस्थामा हुँदैन  ।

पेडियाट्रिक सर्जरीबाट बालबालिकामा कस्तो फाइदा पुग्छ ? 

कतिपय रोगहरु यस्ता हुन्छन्, बालबालिका जन्मिनेबित्तिकै अप्रेशन गरेन भने बाँच्ने सम्भावना शून्य हुन्छ । त्यसैले जन्मिने बित्तिकै अप्रेसन गर्‍यो भने यसले पूर्ण जीवन दिलाउँछ । अर्काे सानैमा अप्रेसन गरेर पछिसम्म ढुक्कले जिउन सकिन्छ  । 

अहिले नेपालको अवस्था कस्तो छ ? 

अहिले झण्डै ४० लाख बालबालिका छन् भन्ने अनुमान गरिएको छ । त्यसमध्ये तीन प्रतिशत बालबालिका जन्मंदैमा केही न केही खोट लिएर जन्मेका हुन्छन्  । तर केही समस्या नदेखिएकाले अस्पताल नगएका हुन सक्छन्  । 

कतिपय लक्षण देखिएर अस्पताल आउने क्रम जारी छ ।  तर उपचार गर्ने भनौं या सर्जरी गर्न सक्ने डाक्टरको संख्या कमी छ । समस्या धेरै छ, तर डाक्टर छैनन् । भएका डाक्टरहरु पनि काठमाण्डौ केन्द्रित छन् । गाउँ गाउँमा सर्जरी गर्न सक्ने डाक्टरको अभाव छ । जे जति भएको छ, जनरल सर्जनले नै गर्नुपरेको अवस्था छ ।

अप्रेसन गर्दा जोखिम पनि हुन्छ होला नि ? 

अवश्य पनि हुन्छ  । बालबालिकाको शरीर अरुको भन्दा फरक तथा अति नै संवेदनशील हुने भएकाले पनि धेरै जोखिम हुन्छ नै । उनीहरुको शरिरको बनावट पनि बिशेष प्रकारको  हुन्छ  । प्रकृया पनि फरक हुन्छ त्यसैले अरु साधारण भन्दा फरक हुन्छ । बेहोस  पार्ने प्रकृयामा अझै धेरै जोखिम छ ।  त्यसैले अप्रेसन गर्ने डाक्टर पनि बालबालिका सम्बन्धि ट्रेन भएको नै हुनुपर्छ ।  

बालबालिकाको अप्रेसन भने पछि अविभावक पनि डराउने अप्रेसन गर्न नमान्ने हुन्छन्, त्यस्तो अवस्थामा के गर्नु हुन्छ ? 

एकदम सही कुरा उठाउनुभयो । मेरो बच्चा सानो छ, यस्तो सानो बच्चाको कसरी अप्रेसन गर्ने, त्यसमा पनि बेहोस कसरी गर्ने भन्ने चिन्ता आमाबाबुको हुन्छ  ।

सबैभन्दा राम्रो पक्ष के छ भन्दा, बालबालिकाको शरीर कलिलो हुने हुनाले उनीहरुको अप्रेसनपछिको घाउ निको हुने प्रकृया धेरै राम्रो हुन्छ ठुलो मान्छेको भन्दा । किनभने डाइबेटिज हुँदैन । ब्लड प्रेसर हुँदैन । त्यसैले  निको हुने प्रकृया एकदम राम्रो  हुन्छ । तै पनि आमाबाबु डराउनु हुन्छ । तर यसमा डराउनु पर्दैन  । बालबालिकालाई बेहोस पारेर  पनि जटिल अप्रेसन नेपालमा राम्रो भएको छ ।

यसरी अप्रेसन गर्दा महंगो पनि त छ होला नि ? 

खासै महंगो त छैन । तर सबै अस्पतालमा सम्भव छैन भन्दैमा त्यस्तो महंगो चार्ज लिन मिल्दैन । ठूलो मान्छेमा जसरी चार्ज लाग्छ, त्यसरी नै बालबालिकाको अप्रेसनमा चार्ज लिने हो  ।

कहिलेकाहीँ अप्ठ्यारो पनि हुन्छ । एक स्टेजमा अप्रेसन गर्न सकिएन भने धेरै स्टेजमा गर्नु पर्ने हुन्छ । त्यस्ता रोगहरु पनि छन्, जुन धेरै पटक अप्रेसन गरिराख्नुपर्ने हुन्छ । त्यस्तो अवस्थामा खर्च पनि धेरै लाग्ने हुन्छ ।  बारम्बार अस्पताल धाउनुपर्ने हुन्छ । त्यस्तो अवस्थामा आर्थिक अवस्था कमजोर भएका अभिभावकलाई भने अप्ठ्यारो नै हुन्छ । तर अप्रेसन गर्नै नसकेर फर्किनु परेको अवस्था अहिलेसम्म आएको छैन  । 


 

अन्तिम अपडेट: जेठ ६, २०७६

तपाईको प्रतिक्रिया