दिपक बिष्टको संयोजनमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निमार्णका लागि समिति गठन

 वैशाख २६, २०७६ बिहीबार १७:११:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  धुर्मुस सुन्तली फाउण्डेशनको संयोजनमा जनस्तरबाट निर्माण हुने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागि खेलकुद समिति गठन गरिएको छ । 

तेकवान्दो खेलाडी दिपक बिष्टको संयोजनमा फाउण्डेशनको कार्यालयमा १३ सदस्य समिति गठन गरिएको छ ।  समितिमा ४ सदस्यीय सल्लाहकार समिति र सम्पूर्ण खलकुदसँग सम्बन्धित संघसंस्थाका अध्यक्षहरु पदेन सल्लाहकार रहने गरी समिति गठन भएको छ ।

सल्लाहकारहरुमा कीर्तिमानी धावक बैकुण्ठ मानन्धर, नेपाली फुटबलका पूर्व कप्तान राजु शाक्य, नेपाल क्रिकेट संघका पूर्व सीईओ भावना घिमिरे र राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक समेत रहेका जगत टमाटा समितिमा रहेका छन् । त्यसका साथै यो अभियानको सद्भावना दूतका रुपमा राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र राष्ट्रिय खेलाडी सन्दीप लामिछाने रहेका छन् ।

देशैभरि रङ्गशाला निर्माणको अभियान चलिरहेका बेला खेलाडीहरुको समेत उपस्थिति रहने गरी समिति गठन गरिएको हो । समितिमा देशका चर्चित तथा अनुभवी खेलाडीहरु र संघसंस्था समावेश गरिएको संयोजक बिष्टले जानकारी दिएका छन् ।

खेलकुद समितिमा हरि खड्का (फुटबल), संगीना वैद्य (तेक्वान्दो), भरत शाह (भलिबल), विनोद दास (क्रिकेट), गौरिका सिंह (पौडी), दिपक श्रेष्ठ (कराँते), रुबिना क्षेत्री (क्रिकेट), सरस्वती चौधरी (भलिबल), दिपक महर्जन (बक्सिङ), महेश्वर महर्जन (बडी बिल्डिङ), सावित्रा भण्डारी ‘साम्बा’ (फुटबल), अनिल गुरुङ (फुटबल) र छुम्बी लामालगायतको समिति रहेको संयोजक बिष्टले बताएका छन् ।

समितिले रंगशाला निर्माणका लागि देश विदेशमा बिभिन्न आर्थिक संकलनका अभियानहरु सञ्चालन गर्ने र सबै खेलाडीहरुलाई अपनत्व ग्रहण हुने गरी सहयोग गर्ने छ । ‘धुर्मुस सुन्तली आफ्नो कार्यक्षेत्र छोडेर हाम्रा लागि स्टेडियम र खेलकुद हब बनाउन लाग्नुभएको छ, हामीले पनि हाम्रो तर्फबाट केही गर्न सकिन्छ र गरौं भन्ने हेतुले समिति गठन गरेका हौं’, संयोजक बिष्टले भने, ‘यो समिति सक्रिय रुपमा विभिन्न अभियान चलाउँदै अघि बढ्नेछ, विभिन्न ठाउँबाट सबैले सहयोग र साथ दिनुहुनेछ भन्ने कुरामा आशावादी छौं ।’

रङ्गशाला निर्माण अभियानका लागि फाउण्डेशनले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र राष्ट्रिय खेलाडी सन्दीप लामिछानेलाई सद्भावना दूतका रुपमा समेत नियुक्त गरेको छ । 

यो अभियानले रङ्गशाला निर्माणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाटै आर्थिक संकलन गर्नुपर्ने र एउटा राम्रो सन्देश विश्वभर पुर्याउने कप्तान पारस खड्काले बताए । ‘हाम्रै लागि चलिरहेको यो अभियानमा जोडिन पाउँदा निकै खुशी छु’, उनले भने, ‘मैले सुरुवातदेखि नै फाउण्डेशनलाई सहयोग गरिरहेको छु, अझै यो जिम्मेवारीले थप सहयोग गर्न र नेपाललाई विश्वमा चिनाउन मैले र हाम्रो पूरा टिमले सक्ने सहयोग गर्नेछौं ।’

यो अभियानका लागि निर्माण समिति, व्यवस्थापन समिति, आर्थिक समिति, प्राबिधिक समिति लगायत अन्य समितिहरु पनि गठन भैसकेको अध्यक्ष सीताराम कट्टेलले जानकारी दिएका छन् ।

‘खेलकुद समिति गठनले थप ऊर्जा मिलेको र सम्पूर्ण खेलाडीले अपनत्व ग्रहण गरी अभियानमा सक्रिय भएर लाग्नुहुनेछ भन्ने कुरामा हामी विश्वस्त छौं’, अध्यक्ष कट्टेलले भने, ‘यो समितिमा भोलिका दिनमा अझै अरु अनुभवी तथा विज्ञ खेलाडी तथा संघसंस्थाहरु पनि जोडिँदै जानुहुनेछ भन्ने कुरामा आशावादी छौँ ।’
 

अन्तिम अपडेट: कात्तिक १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया