डडेल्धुरामा निजी विद्यालय सरकारीमा समायोजन

 बैशाख २९, २०७६ आइतबार ११:३२:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

डडेल्धुरा – गन्यापधुरा गाउँपालिकाका एक निजी र दुई सामुदायिक गरी तीन विद्यालय एकै विद्यालयमा समायोजन भएका छन् । 

गन्यापधुरामा विसं २०७२ मा स्थापना भएको मर्निङवेल इङ्गलिस बोर्डिङ स्कुल र सरस्वती प्रावि जिमरोडालाई लाटागन्याप प्रावि मालिगाउँमा पठनपाठन हुनेगरी समायोजन गरिएको गाउँपालिका अध्यक्ष नवल बहादुर मल्लले जानकारी दिनुभयो ।

सरकारी विद्यालयहरुले पनि अंग्रेजी माध्यममा गुणस्तरीय शिक्षा प्रदान सुरु गरेकाले निजी विद्यालयमा विद्यार्थी सङ्ख्या भर्ना कम हुँदा समायोजन गर्नुपरेको निजी विद्यालय सञ्चालकले जनाएका छन् ।

अधिकांश बालबालिकाहरु सामुदायिक विद्यालयमा भर्ना हुन थालेपछि निजी विद्यालय बन्द हुने अवस्थामा पुगकाले समायोजन गर्नुपरेको गाउँपालिका अध्यक्ष मल्लले बताउनुभएको छ ।

अन्य वडामा रहेका निजी विद्यालय र विद्यार्र्थी सङ्ख्या कम रहेका सामुदायिक विद्यालयलाई समेत समायोजनको प्रयास भइरहेको उहाँले बताउनुभयो ।

जिल्लाका अन्य स्थानीय तहमा रहेका विद्यालयमा पनि विद्यार्थी सङ्ख्या कम हुँदा पनि समायोजन हुन नसक्दा गन्यापधुराले गरेको समायोजनको पहल कदरयोग्य रहेको शिक्षा विकास तथा समन्वय एकाइ डडेल्धुराले जनाएको छ ।

समायोजन भएका विद्यालयमा बालविकास केन्द्र भने यथावत रहने र आवश्यक परेका समुदायमा बालविकास केन्द्र थपिने गन्यापधुराका शिक्षा इकाइ प्रमुख प्रेमसिंह ऐरले जानकारी दिनुभयो ।

शैक्षिक गुणस्तर वृद्धिका लागि गाउँपालिकाले ती विद्यालयलाई अनुदान पनि दिने भएको छ । विद्यालयमा भवन, खेलमैदान, शौचालय, खानेपानी, प्रयोगशाला, बाह्य वातावरणलगायत भौतिक पूर्वाधार, शिक्षक दरबन्दी र शैक्षिक सामग्री व्यवस्थापनमा सुधार गरिने अध्यक्ष मल्लले बताउनुभयो ।


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया