दरबन्दी नथपिए सरकारी वकिलहरुले काम गर्न नभ्याउने महान्यायाधिवक्ताकाे भनाइ

 वैशाख ३१, २०७६ मंगलबार १४:४९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - महान्यायाधिवक्ताको कार्यालयले तत्काल १ सय २७ जना सरकारी वकिलसहित २ सय ४५ जनाको दरबन्दी थप गर्न सरकारसँग माग गरेको छ ।

महान्यायाधिवक्ता अग्नि खरेलले संघीयताको कार्यान्वयनसँगै सरकारी वकिलहरुको कामकाे बोझ बढेकाे उल्लेख गर्दै तत्काल १ सय २७ जना सरकारी वकिलसहित २४५ दरबन्दी थप गर्न सरकारसँग माग गर्नुभएको हो ।

मंगलबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी उहाँले विगत ५ वर्षयता सरकारी वकिललाई ६५ प्रतिशत बढि मुद्दाको बोझ थपिएको पनि स्पष्ट पार्नुभयो । हाल महान्यायाधिवक्ताको कार्यालय र मातहतका कार्यालयमा सरकारी वकिल ४ सय ४० सहित १५०४ जनाको दरबन्दी रहेको छ । त्यसमा अरु जनशक्ति नथप्ने हो भने सरकारी वकिलहरुले आफ्नो कार्य सम्पादन गर्न नसक्ने महान्यायाधिवक्ताको कार्यालयको निष्कर्ष छ ।

महान्यायाधिवक्ताको कार्यालयले हिरासत र कारगारको क्षमता विस्तार र स्तरोन्नतिको काम गर्न पनि सरकारलाई सुझाव दिएको छ । महान्यायाधिवक्ता खरेलले चालु आर्थिक वर्षमा २४ जिल्लाको ३७ वटा हिरासत कक्ष र १९ वटा कारगार तथा १ बाल सुधार गृहको अनुगमन गरिएको उल्लेख गर्दै त्यसमा तत्काल सुधार गर्नुपर्ने आवश्यक्ता देखिएको स्पष्ट पार्नुभयो ।

उहाँले कारगार र हिरासत तत्काल सुधारका लागि सरकारका सम्बन्धित निकायलाई जानकारी गराइएको पनि बताउनु भयो ।

यसैबीच, महान्यायाधिवक्ताको कार्यालयले कार्यालय परिसरभित्रै शिशु स्याहार केन्द्र पनि सत्र्चालनमा ल्याएको छ । मंगलबार महान्यायाधिवक्ता खरेलले कार्यालयका कर्मचारीका शिशुहरुको स्याहारका लागि सञ्चालनमा ल्याइएको शिशु स्याहार केन्द्रको उद्घाटन गर्नुभयाे ।

कार्यालयमा काम गर्ने कर्मचारीहरुलाई आवश्यक वातावरण बनाउन पनि सो शिशु स्याहार केन्द्र स्थापना गर्नु परेको पनि महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।

महान्यायाधिवक्ता खरेलले कार्यालय अवधिभर सञ्चालनमा आउने  शिशु स्याहार केन्द्रले कर्मचारीहरुलाई कार्यालयको काम दक्षतापूर्वक सम्पादन गर्न सघाउ पुर्‍याउने अपेक्षा गरिएको पनि बताउनु भयो ।

 

अन्तिम अपडेट: चैत २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया