संसारमा ठूला कम्युनिष्ट पार्टीहरु तासकाे महल ढलेजस्ताे ढलेका छन्, हाम्राे त्यस्ताे नहाेस : नेता पाेखरेल

 जेठ १, २०७६ बुधबार १७:२३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपाका नेता ईश्वर पोखरेलले पार्टीको विचार र राजनीतिक कार्यदिशा स्पष्ट हुनुपर्ने बताउनुभएको छ । 

उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसमेत रहेका नेता पोखरेलले युवा संघ नेपालको २९ औँ वार्षिकोत्सवको अवसरमा बुधबार राजधानीमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दे एकताबद्ध भएको पार्टी विचारमा सुस्पष्ट हुनुपर्ने धारणा राख्नुभएको हो ।

विश्वमा भएका घटना नेपालमा पनि दोहोरिन सक्ने भन्दै उहाँले विचारको स्पष्टतालाई नेतृत्वले विशेष महत्व दिनुपर्नेमा जोड दिनुभयो । उहाँले विचारमा स्पष्ट हुन नसके कम्युनिष्ट पार्टी एकताबद्ध भएर ठूलो बने पनि निर्णायक जित हासिल गर्न नसक्ने तर्क गर्नुभयो । उहाँले भन्नुभयो, 'संसारमा हामीले देख्यौँ कम्युनिष्ट पार्टीहरु ठूला-ठूला बने । राज्यसत्ता कब्जा गरे । शासन सञ्चालन गरे । तर ती कम्युनिष्ट पार्टीहरु पूँजीवादीहरुले एउटा पनि गोली प्रहार नगरिकन तासका महल ढलेजस्तो भएर ढले । हाम्रो एकताबद्ध भएको कम्युनिष्ट पार्टी कुनै हालतमा पनि त्यस्तो हुनुहुन्न । हामी सबैले यसमा खबरदारी गर्नुपर्ने जरुरी छ ।'

आर्थिक विकास र समृद्धिको कुरा गरिरहदा ठोस नीति, कार्यक्रम, योजना र आचरण स्पष्ट हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।  राजनीतिक कार्यदिशाले सम्बोधन गर्ने विषय सार्थक ढंगले आउन नसके पार्टी एकढिक्का भए पनि दिशाहीन अवस्थामा पुग्ने उहाँको तर्क थियो ।

उहाँले भन्नुभयो, 'हाम्रो पोलिटिक्स अब आर्थिक विकास र समृद्धिमा कसरी केन्द्रित हुने हो ? यसको बारेमा छलफल हुनुपर्दछ । यदि यो छलफल भएर हामी ठिक ढंगले निष्कर्षमा पुग्न सकेनौँ भने वास्तवमा हामी न हाँसको चाल न कुखुराको चाल हुन पुग्छ । त्यो दुर्भाग्यपूर्ण स्थिति आउन दिन हुँदैन ।'

विचारमा स्पष्ट हुन नसके सिंगो पार्टी नै अलमलमा पर्ने र अन्तत: कम्युनिष्ट पार्टीले नै दुर्गति भोग्नुपर्ने भन्दै उहाँले त्यसतर्फ सधैँ चनाखो हुनुपर्ने आवश्यकता औँल्याउनुभयो  ।

उहाँले भन्नुभयो, 'हाम्रो राजनीतिक कार्यदिशासंग गासिएका कुराहरुमा हाम्रो स्पष्टताको जरुरत छ । विचारको मामिलामा हामी स्पष्टताका साथ अगाडि बढ्नु पर्दछ । राजनीतिक कार्यदिशाका सन्दर्भमा पनि स्पष्टता हासिल गरेनौँ भने हामी अलमलमा पर्छौं । अलमलमा परेको कम्युनिष्ट पार्टी दुर्गति भोग्नुबाहेक अर्को उपलब्धि हुन सक्दैन । र हामी दुर्गतिलाई स्वीकार गर्न सक्दैनौँ ।'

उहाँले विगतको अभ्यासभन्दा फरक अभ्यास र प्रणालीबाट अघि बढ्नुपर्ने भएकाले संगठनात्मक सदृढताको खाँचो औल्याउनुभयो । उहाँले भन्नुभयो, 'श्रृंखलावद्ध कमिटी प्रणाली नहुने हो भने कम्युनिष्टहरु भिडमा शक्ति प्राप्त गर्न सक्दैनन् । संगठनमा मात्रै शक्ति प्राप्त गर्छन् । र यो संगठन भनेको श्रृंखलावद्ध कमिटी प्रणालीमा प्रकट हुन्छ । प्रकट हुनुपर्दछ ।'

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया