वैशाख महिनाः सेलिब्रिटीकाे बिहेकाे लहर

 जेठ १, २०७६ बुधबार २०:२५:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नयाँ वर्षको आगमनसँगै धेरै मानिसको जीवनमा नयाँ सदस्यको पनि प्रवेश हुने गरेको छ । वैशाख महिना विवाहका लागि पनि शुभ मानिने हुँदा यो महिना धेरैले लगनगाँठो कस्छन् । 

यस्तै २०७६ सालको वैशाख महिनामा केही सेलिब्रेटीहरुले पनि लगनगाँठो कसेका छन् । यी हुन् वैशाख महिनामा लगनगाँठो कस्ने सेलिब्रेटीहरु:

दिवाकर भट्टराई र दीपिका प्रसाइँ

छ महिना अगाडि इन्गेजमेन्ट गरेका निर्देशक दिवाकर भट्टराई र अभिनेत्री दीपिका प्रसाइँले पनि वैशाख २४ गते नै विवाह गरे । उनीहरुले पाँच वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गरेका हुन् । दीपिका र दिवाकरले अदालती विवाह भने इन्गेजमेन्ट अगाडि नै गरिसकेका थिए । 

निर्देशक दिवाकरले निर्देशन गरेको चलचित्र ‘ऐश्वर्य’ मा काम गरेपछि दीपिका र दिवाकरको प्रेम रहेको चर्चा चलेको थियो । यहि सिनेमामा काम गर्ने क्रममा उनीहरुको भेट भएको हो । 

रेनशा वान्तवा राई र प्रज्वल शमशेर जबरा

निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राई र निर्माता प्रज्ज्वल शमशेर जबराले वैशाख २४ मा विवाह गरे । उनीहरु लामो समयदेखि प्रेम सम्बन्धमा रहेका थिए । रेनशाले प्रज्वलकै चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ बाट निर्देशनमा डेब्यू गरेकी थिइन् । झण्डै आठ वर्षको प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरेका हुन् । 

प्रज्वल सुपरहिट नेपाली चलचित्र ‘मेरो एउटा साथी छ’ का निर्माता प्रभु शम्सेर राणाका छोरा हुन् । रेनशाले चलचित्र ‘मेरो एउटा साथी छ’ बाट कोरियोग्राफीको सुरुवात गरेकी थिइन् । 

यतिबेला उनीहरु अर्को चलचित्र ‘आई एम ट्वान्टिवान’ को तयारीमा छन् । ‘आई एम ट्वान्टिवान’ को निर्देशन पनि रेनशाले नै गर्ने पक्का भैसकेको छ । उता प्रज्ज्वलले चलचित्र ‘मेरो एउटा साथी छ २’ निर्माणको समेत घोषणा गरिसकेका छन् ।

स्वरुपपुरुष ढकाल र मुस्कान सुवेदी

चलचित्र ‘छक्का पञ्जा २’ का मुख्य कलाकार स्वरुपपुरुष ढकाल पनि यही वैशाख महिनामा नै विवाह बन्धनमा बाँधिएका हुन् । उनले काठमाण्डौको पेप्सीकोला निवासी मुस्कान सुवेदीसँग विवाह गरेका हुन् । स्वरुपपुरुष र मुस्कानको वैशाख २ गते टिकाटालो गरिएको थियो भने दुवै पक्षका परिवारको उपस्थितिमा वैशाख २९ गते विवाह गरियो । स्वरुपपुरुषले मागी बिहे गरेका हुन् ।

‘छक्का पञ्जा २’ पछि अभिनेता ढकालले कुनै पनि चलचित्रमा काम गरेका छैनन् । तर ‘छक्का पञ्जा २’ अगाडि नै उनले काम गरेको सिनेमा ‘सुस्केरा’ प्रदर्शनको तयारीमा छ । 

विक्रम बराल र अनु गहतराज

‘नेपाल आइडल’ सिजन २ का उपविजेता विक्रम बरालले पनि पाँच वर्ष लामो प्रेमलाई वैशाख २९ मा विवाहमा परिणत गरे । विक्रमले प्रेमिका अनु गहतराजसँग विवाह गरेका हुन् । उनीहरुले स्थायी घर पोखरामै विवाह गरेका हुन् ।

विक्रमको साङ्गीतिक करियरको उतारचढावहरुमा सँगै रहेकी अनुले विक्रमलाई पोखराकै एक साङ्गीतिक कार्यक्रममा भेटेकी थिइन् । त्यहाँबाट नै उनीहरुको प्रेम सम्बन्ध अगाडि बढेकाे थियो ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया