इंग्ल्याण्डको दोस्रो डिभिजन लिगको प्रमोसन प्लेअफमा डर्बी काउन्टि र एष्टन भिल्ला खेल्ने

 जेठ २, २०७६ बिहिबार ७:३७:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्ल्याण्डको दोस्रो डिभिजन लिगको प्रमोसन प्लेअफमा डर्बी काउन्टि र एष्टन भिल्ला खेल्ने भएका छन् । प्लेअफको सेमिफाइनलमा काउन्टिले लिड्स युनाइटेडलाई ४–२ ले स्तब्ध पारेपछि डर्बी समग्रमा ४–३ ले विजयी भयो ।

डर्बीको मैदानमा भएको पहिलो लेगमा लिड्सले १–० को जित निकालेको थियो । आफ्नो मैदानमा भएको दोस्रो लेगमा लिड्सले २४औं मिनेटमा अग्रता लियो । स्टुवार्ट डल्लासले गोल गरेपछि लिड्सले समग्रमा २–० को अग्रता थियो ।

तर, सुपर सब ज्याक मारिओटको मैदान प्रवेश गरेपछि डर्वीको खेल नै फरक भयो । ४४औं मिनेटमा मैदान प्रवेश गरेका मारिओटले ४५औं मिनेटमा गोल गरे । दोस्रो हाफको सुरुवातमै म्यासन माउण्टले गोल गरेपछि डर्बीले अग्रता थियो भने समग्रमा खेल बराबरीमा पुग्यो ।

५८औं मिनेटमा ह्यारी विल्सनले पेनाल्टीमा गोल गरेर डर्बीको अग्रता ३–१ म लम्ब्याए । 

६२औं मिनेटमा डल्लासले गोल गर्दै लिड्सलाई खेलमा फर्काए । तर, ८५औं मिनेटमा मारिओटले गोल गरेपछि डर्बीले महत्वपूर्ण जित निकालेको हो ।

फ्राङ्क लाम्पार्डको प्रशिक्षणमा रहेको डर्बीले प्रिमियर लिगमा स्थान बनाउनका लागि प्रमोसन प्लेअफको फाइनलमा एष्टन भिल्लासँग प्रतिष्पर्धा गर्नेछ । एष्टनभिल्लाले सेमिफाइनलमा वेष्टब्रमलाई हराएको थियो ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया