दीपशिखा : वाईसिएल अध्यक्षदेखि युवा संगठनकाे संयाेजकसम्म

 जेठ २, २०७६ बिहिबार २०:३३:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टीको बिहीबार बसेको सचिवालय बैठकले युवा संगठनको संयोजकमा रामप्रसाद सापकोटा ‘दीपशिखा’को नाममा सहमति जुटाएको छ । 

तत्कालीन एमाले र माओवादी केन्द्रबीच औपचारिक एकता हुँदा एक वर्ष अघि युवा संगठन विघटित भएको थियो । दुवै दलबीच गएको जेठ तीन गते औपचारिक एकता भएको थियो । 

एक वर्षपछि पार्टीको औपचारिक एकता भएकै दिनमा युवा संगठन लगायत जनवर्गीय संगठनहरुको जिम्मेवारी तोक्ने गरी नेकपाको सचिवालय बैठकले नाम टुंगो लगाएको हो । 

एक वर्षसम्म विगठन गरिएका जनवर्गीय संगठन पुनर्गठन नगरेको भन्दै नेतृत्वको आलोचना हुँदै आएको थियो । पार्टी एकता भएको एक वर्षको उपलक्ष्यमा जनवर्गीय संगठनको नेतृत्व टुंगो लगाउने गरी बिहीबार बसेको नेकपाको सचिवालय बैठकले विघटित जनवर्गीय संगठनको नेतृत्व टुंगो लगाएको हो ।  

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले तत्कालीन एमाले र माओवादीको भागवण्डाका आधारमा जनवर्गीय संगठनको संयोजक र सहसंयोजक तोकेको हो ।

युवा संगठनको जिम्मेवारी पाउन लागेका दीपशिखा २०७४ भदौ ४ गते तत्कालीन माओवादी केन्द्रको युवा संगठन (योङ कम्युनिष्ट लिग) वाईसीएलको अध्यक्षमा चुनिएका थिए । त्यसअघि भने दीपशिखा वाईसिएलको प्रवक्तामा थिए । तत्कालीन माओवादीका लागि वाईसीएल ब्याक बोनको रुपमा रहेको थियो । 

नेकपाको सचिवालय बैठकले युवा संगठनको सह–संयोजकमा भने रमेश पौडेलको नाममा सहमति जुटाएको छ । पौडेल एमाले निकट युवासंघको अध्यक्ष हुन् । त्यसअघि राजिव पहारी युवासंघको अध्यक्ष थिए ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया