आन्तरिक कलह अन्त्य नभए कांग्रेस सिद्धिन्छ: कांग्रेस नेतृ कोइराला

 जेठ ३, २०७६ शुक्रबार २०:२२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले कांग्रेसमा बढ्दो आन्तरिक कलहले कांग्रेस सिद्धिने बताउनु भएको छ ।

शुक्रबार भक्तपुरमा जिपी कोइराला फाउण्डेशनले आयोजना गरेको गिरिजाप्रसाद कोइरालाको तस्बिर प्रदर्शनी एवं विचार गोष्ठीमा उहाँले पार्टीभित्रको झगडा र गुटैगुटका कारण कांग्रेस कमजोर हुँदै गएकाले यसलाई सच्याएर अगाडि नबढे आगामी निर्वाचनमा पनि कांग्रेस पराजित हुने बताउनुभयो ।

कांग्रेस आगामी निर्वाचनमा पनि पराजित भए नेपालमा एक दलीय कम्युनिष्ट शासन लागू हुने बताउँदै उहाँले पार्टीभित्रको कलह र गुट उपगुट अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । जीपी कोइराला फाउन्डेशनको केन्द्रीय अध्यक्षसमेत रहेकी नेतृ कोइरालाले संसदमा आफ्नो पार्टीको संख्या कम भएकै कारण नेकपाले पेल्दै लागेको बताउनुभयो । 

उहाँले मुलुकमा शान्ति स्थापनार्थ नेतृत्वदायी भूमिका खेल्ने पूर्वप्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालालाई देशले बिर्सन नहुने बताउनु भएको छ । देशमा शान्ति स्थापनादेखि राजतन्त्र अन्त्य र संविधान निर्माणमा समेत सबै दलहरुलाई एकताबद्ध बनाइ अगाडि बढ्नुभएको कोइरालाको योगदानलाई कसैले भुल्न नहुने बताउनुभयो । 

जनयुद्धमा होमिएको तत्कालिन माओवादीलाई शान्ति वार्तामा ल्याउन, राजतन्त्र बिरुद्धको आन्दोलनमा सबै दलहरुको मोर्चाबन्दी बनाइ आन्दोलन गर्न र संविधान निर्माणमा समेत कोइरालाको अतुलनीय भूमिका रहेको बताउनुभयो । 

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय नेता गुरुराज घिमिरे, रिता खनाल, कमला पन्त, पूर्व सासंद लेखनाथ न्यौपाने, कांग्रेस भक्तपुर जिल्ला अध्यक्ष दुर्लभ थापा, जिपि फाउण्डेसनका जिल्ला अध्यक्ष विदुरमानसिङ बस्नेतले लगायतले गिरिजाप्रसाद कोइरालाले सहमति, सहकार्य र एकताका लागि खेलेको भूमिकाको चर्चा गर्नुभयो । 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया