भौतिक पूर्वाधार मात्र विकास होइन : मुख्यमन्त्री पौडेल

 जेठ ६, २०७६ सोमबार १३:२०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ – प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधारमात्र विकास नभएको बताउनुभएको छ । उहाँले सामाजिक विकास, आर्थिक विकास र सामाजिक रुपान्तरणले मात्र विकास सम्भव हुने बताउनुभयो ।

सोमबार गजुरी गाउँपालिका भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेललले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको समन्वयमा मात्र विकास हुने धारणा राख्नुभयो । ‘साना योजना, स्थानीय सरकारले गर्ने मध्यम किसिमका योजना, प्रदेशले गर्ने योजना र संघीय सरकारले गर्ने ठूला योजनाबीच तालमेल हुनुपर्छ,’ उहाँले भन्नुभयो । 

उहाँले विकासका नाममा पैसा बाँड्ने नभई आधारभूत विषय पहिचान गरेर योजना अनुरुप काम गर्न गाउँपालिकालाई आग्रह गर्नुभयो । ‘समानुपातिकको नाममा वितरणमूखी योजना होइन, समानुपातिक विकास गर्न रोजगारमूलक योजना निर्माण गरेर लागू गर्नुपर्छ,’  उहाँले भन्नुभयो । 

कार्यक्रममा प्रदेश ३ का आन्तिरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेलले ‘समृद्ध नेपाली सुखी नेपाली' बनाउन सबै मिलेर लाग्नुपर्नेमा जोड दिनुभयो । गजुरी गाउँपलिकाको नयाँ सुविधा सम्पन्न भवनबाट काम सुरुवात गर्दै गाउँपालिका प्रमुख राजेन्द्र विक्रम बस्नेतले नयाँ भवनबाट उच्चस्तरीय सेवा प्रदान गर्ने बताउनुभयो ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया