पाँचथरमा २ परिवारका ९ जनाको विभत्स हत्या

 जेठ ७, २०७६ मंगलबार ८:१८:९ | उज्यालो सहकर्मी
unn.prixa.net

पाँचथर – पाँचथरमा २ परिवारको ९ जनाको हत्या भएको छ । एक बालिका घाइते भएकी छिन् ।

मिक्लाजुङ गाउँपालिका ३ को आरुबाटेमा एक परिवारको ५ जना र अर्को परिवारको ४ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनिल पौडेलले जानकारी दिनुभएको छ ।

घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार सोमबार राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो ।

धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्थामा भेटिएको गुरुङले जानकारी दिनुभयो । वडाध्यक्ष हस्तराज फियाकले यो घटनाको पुष्टि गर्नुभयो ।

३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती फर्किमाया फियाक र १२ वर्षीया श्रेया फियाकको विभत्स हत्या भएको हो ।

१२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छिन् । मध्यरात भएको घटना स्थानीयवासीन्दाले बिहान मात्रै थाहा पाएका थिए । घाइते सीताले स्थानीयवासीलाई दिएको जानकारीअनुसार मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो ।

घटनास्थलमा दशमीबजारमा रहेको प्रहरी चौकीको टोली बिहान ६ बजे पुगेको छ भने इलाका प्रहरी कार्यालय रवि र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ लागेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले ९ जनाको हत्या भएको स्थानीयवासी र घटनास्थलमा रहेका प्रहरीले पुष्टि गरेको जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

1 Comments

  • Suman adhikari

    May 21, 2019, 8:46 a.m.

    होइन कति नराम्रो समाचार ...आज भोलि हाम्रो समाज कता तर्फ लाग्दैछ ? पहिले भन्दा धेरै हिँसा हुँदैछ / आखिर किन नेपाल शान्तिक्षेत्रवाट उग्रवादी देश बन्दैछ सरकार ?दोषीलाई कारवाही होस् , चांडो भन्दा चांडो हत्यारा पत्ता लगाइयोस , यो कुनै सुनकाण्ड होइन सरकार /

  •  0 Reply

तपाईको प्रतिक्रिया