मातृ मृत्युदर न्यूनिकरणका लागि सुरक्षित गर्भपतन सम्बन्धी अभिमुखीकरण

 जेठ ७, २०७६ मंगलबार १४:४:३० | उज्यालो सहकर्मी

खोटाङ – असुरक्षित गर्भपतनका क्रममा हुने मातृ मृत्युदर न्यूनिकरणका लागि जिल्ला अस्पताल खोटाङले जनचेतनामूलक अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।

अझै पनि जिल्लामा सूचीकृत नभएका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाबाट असुरक्षित गर्भपतन गराउने गरिएको पाइएपछि जिल्ला अस्पतालले मंगलबार स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र क्लिनिक सञ्चालक लगायतलाई सहभागी गराएर समुदायस्तरमा सुरक्षित गर्भपतन सेवासम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको हो ।

७ प्रतिशत मातृ मृत्युदर असुरक्षित गर्भपतनका कारण हुने गरेको तथ्यलाई ध्यानमा राखेर सचेतनामूलक कार्यक्रम राखिएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नविन देवकोटाले बताउनुभयो ।

कार्यक्रममा सहभागी स्वास्थ्यकर्मीले जिल्ला अस्पतालसहित स्वास्थ्य केन्द्र र स्वास्थ्यचौकीमा सुरक्षित गर्भपतन गराउने व्यवस्था भए पनि कतिपय महिलाले सूचीकृत नै नभएका स्वास्थ्यकर्मीबाट गर्भपतन गराउने गरेको बताएका छन् । आर्थिक वर्ष २०७४-०७५ मा जिल्ला अस्पतालबाट २१६ जना, प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीबाट १२ जना, दुर्छिम स्वास्थ्यचौकीबाट ६८ जना, स्वास्थ्यचौकी साउनेचौरबाट ३१ जना, बाक्सिला स्वास्थ्यचौकीबाट १५ जना र स्वास्थ्यचौकी बड्कादियालेबाट ९ जनाले सुरक्षित गर्भपतन गराएको जिल्ला अस्पतालकी स्टाफ नर्स सिर्जना पौडेलले जानकारी दिनुुभयो ।

प्राथमिक स्वास्थ्यकेन्द्र ऐंसेलुखर्क, स्वास्थ्यचौकी लामीडाँडा, स्वास्थ्यचौकी निर्मलीडाँडा र स्वास्थ्यचौकी ओख्रेडाँडागाउँमा २०७४-७५ मा कुनै पनि महिलाले गर्भपतन नगराएको पाइएको छ ।

सूचीकृत नभएका स्वास्थ्यकर्मीबाट जथाभावी असुरक्षित गर्भपतन गराउँदा अधिक रक्तश्राव, पाठेघरमा संक्रमण फैलिएर रगत जाने, अंगभंग हुने, बाँझोपना हुने, पाठेघरमा प्वाल पर्ने, विकलांग बच्चा जन्मिने, मृत्यु हुने, गर्भले निरन्तरता नपाउने लगायतका समस्या देखिएको जिल्ला अस्पतालका डाक्टर नारायण बरालले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया