‘अमेरिकी राजदूतसँग गफगाफ’ कार्यक्रम नेपाल सरकारकाे अनुमतिबिना चलाउनु कुटनीतिक मर्यादाविपरीत : नेता नेपाल

 जेठ ८, २०७६ बुधबार १७:२३:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकी राजदूत र्‍याण्डी बेरीले ‘जनतासँग गफगाफ’ सम्वाद कार्यक्रम सञ्चालन गर्न लागेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

वरिष्ठ नेता नेपालले अन्तर्राष्ट्रिय ‘प्राक्टिस’ मै नभएको त्यस्ता संवाद कार्यक्रम कुटनीतिक मर्यादाविपरीत हुने भएकाले सञ्चालन नगर्न पनि राजदूत बेरीको ध्यानाकर्षण गराउनु भयो । बुधबार संघीय संसद परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले कुटनीतिक मर्यादाको पालना ठूला देशले गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो ।

वरिष्ठ नेता नेपालले अमेरिकाप्रति संकेत गर्दै कुटनीतिक मर्यादाको पाठ सिकाउने देशहरुले त झन् त्यसको पालना गर्नैपर्ने पनि उल्लेख गर्नुभयो ।

सत्तारुढ नेकपाकै अर्का नेता भीम रावलले कुटनीतिक मर्यादाविपरीत गएर अमेरिकी राजदूत बेरीले नेपाली जनतासँग प्रत्यक्ष रुपमा संवाद गर्ने खालका कुनै पनि गतिविधि गर्न नमिल्ने प्रतिक्रिया दिनुभयो । 

उहाँले कुटनीतिक क्षेत्रको कानुन, मर्यादा कुनै पनि दृष्टिले राजदूत बेरीलाई याे संवाद कार्यक्रम संचालन गर्ने अनुमति नरहेको दावी पनि गर्नुभयो ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले सरकारको अनुमतिबिना अमेरिकी राजदूत बेरीले जनतासँग प्रत्यक्ष रुपमा गएर कुनै पनि कार्यक्रम गर्न नमिल्ने स्पष्ट पार्नुभयो । 

राष्ट्रिय जनता पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले सरकारसँग अनुमति नलिइ राजदूत बेरीलाई याे संवाद कार्यक्रम सञ्चालन गर्ने अधिकार नभएको स्पष्ट पार्नुभयो ।

अमेरिकी राजदूत बेरीले आउँदाे सोमबारदेखि सुरु गर्न लागेको ‘अमेरिकी राजदूतसँग गफगाफ’ संवाद कार्यक्रमको सन्देश उहाँकै फेसबुक पेजमार्फत् सार्वजनिक भएपछि त्यसको विरोध हुन थालेको हो । 

सांसद कर्णले कुनै पनि बहानामा कुटनीतिक मर्यादाको उलंघन गर्ने काम राजदूतहरुले गर्न नहुने पनि स्पष्ट पार्नुभयाे ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया