बंगलादेशले एसीसी इमर्जिङ एसिया कप क्रिकेटको आयोजना गर्ने, ८ देशकाे सहभागिता

 जेठ ९, २०७६ बिहिबार १४:४६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

एसीसी इमर्जिङ एशिया कप क्रिकेट बंगलादेशमा आयोजना हुने भएको छ । १२–२५ नोभेम्बर सम्म चल्ने प्रतियोगितामा ८ देशको सहभागिता हुने भएको छ ।

बंगलादेश क्रिकेट बोर्डले एसीसी इमिर्जिङ एशिया कप आयोजना गर्न तयार रहेको बताएको छ । यो प्रतियोगिता २०१७ मा बंगलादेशले आयोजना गरेको थियो भने २०१८ मा पाकिस्तान र श्रीलंकाले संयुक्तरुपमा आयोजना गरेका थिए ।

प्रतियोगिताको आयोजना गर्ने निर्णय बंगलादेशले गरे पनि प्रतियोगिता स्थलको भने टुंगो लगाएको छैन् । प्रतियोगितामा टेस्ट खेल्ने देशका यू–२३ खेलाडीले सहभागिता जनाउने छन् भने अन्य देशको नेशनल टिमले खेल्ने छन् ।

५० ओभरको प्रतियोगितामा बंगलादेश, भारत, पाकिस्तान र श्रीलंकाको यू –२३ को टिम खेल्ने छ । टिममा यू –२३ माथिको सिनियर ४ जना खेलाडी राख्न पाइने भए पनि प्लेइङ सेटमा ३ जना मात्रै राख्न पाइने नियम पनि रहेको छ । यसैगरी अफगानिस्तान, यूएई, ओमान र हङकङको राष्ट्रिय टिमले सहभागिता जनाउने छ ।

२०२२ सम्म एकदिवसीय मान्यता पाएको नेपालले भने यस प्रतियोगितामा सहभागीता जनाउने छैन ।

गएको वर्ष एशिया कपकाे छनाेटमा नेपाल चाैथाे भएकाले यस पटक प्रतियाेगितामा सहभागिता जनाउन नपाउने भएकाे हाे । यस प्रतियाेगितामा गएको एशिया कप छनाेटका शीर्ष तीन टिमलाई स्थान दिइएकाे छ ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया