श्रीमती हत्या आरोपमा एक व्यक्ति पक्राउ

 जेठ ९, २०७६ बिहिबार १९:५९:१५ | आशिष विश्वकर्मा
unn.prixa.net

सिरहा – कर्जन्हा नगरपालिका-११, हटलेटवाका चन्देश्वर खेवार यादवलाई प्रहरीले उनकै श्रीमती रितुदेवी यादवको हत्या आरोपमा पक्राउ गरी सार्वजानिक गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सिरहाले पत्रकार सम्मेलन गरी बिहीबार श्रीमती हत्या आरोपमा यादवलाई पक्राउ गरी सार्वजनिक गरेको हो । यादवले श्रीमतीलाई आवेगमा आएर हत्या गरेको स्वीकार गरेकाे जिल्ला प्रहरी कार्यालय सिरहा प्रवक्ता माधवराज खरेलले जानकारी दिनुभयो । अनुसन्धानका क्रममा उपलब्ध प्रमाणहरुका आधारमा यादवलाई प्रहरीले पक्राउ गरेको हाे ।

यादव आफैँले हत्या स्वीकार गरे पनि प्रहरीले अरुको समेत संलग्नता हुनसक्ने आश‌ंका गरेको छ । प्रवक्ता खरेलले भन्नुभयो, ‘हत्यामा अरुको पनि सलंग्नता हुनसक्ने केही प्रमाणहरु पनि छन्, अनुसन्धानमा असर पर्ने भएकाले सबै कुरा बताउन सकिँदैन । थप अनुसन्धानका लागि हामीले यादवलाई अदालतबाट म्याद थपेर थुनामा राखेका छौँ ।’

प्रहरीले एक आपसको विवादका कारण हत्या भएको देखिएको बताएको छ । प्रवक्ता खरेलले भन्नुभयाे, ‘सबै कुरा भन्न सकिने खालका छैनन्, तर दम्पतीबीचको विवाद नै हत्याको कारण हो ।’ रितुको जेष्ठ ७ गते घरमै घाँटी थिचेर हत्या गरिएको थियो । 

सिरहा नगरपालिका महाविरचोक माइती भएकाी रितुसँग चन्देश्वरको ९ वर्ष अघि विवाह भएको थियो । उनीहरुको ६ वर्षीया एउटी छोरी छन् । छोरा नपाएको निहुमा दिनहुँ झगडा हुने गरेको स्थानीय किशोरी यादवले जानकारी बताउनुभयाे । उहाँले दम्पतीबीच पटक पटक भएको विवाद स्थानीय रुपमा पनि मिलाउने गरिएको पनि जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

आशिष विश्वकर्मा

आशिष विश्वकर्मा सिरहाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया