नवलपरासीमा गुडिरहेको ट्रकमा पेट्रोल बम प्रहार

 जेठ १३, २०७६ सोमबार ८:५६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

नवलपरासी – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले ट्रकमा पेट्रोल बम प्रहार गरी आगजनी गरेका छन् ।

नवलपरासीको मध्यबिन्दु नगरपालिका –११ मा गुडिरहेको लु २ ख १०८ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार गरी आगजनी गरेका हुन् । सिमेन्ट बोकेर नारायणगढतर्फ जाँदै गरेको ट्रकमा सोमबार बिहान तीन बजे पेट्रोल बम प्रहार गरिएको हो ।

पेट्रोल बम प्रहार गर्दा ट्रक अनियन्त्रित भई सडकदेखि ५ मिटर तल खसेको छ । ट्रक चालक तनहुँ ब्यास नगरपालिका –४, बस्ने ३३ वर्षीय अमर विक घाइते हुनुभएको छ । उहाँको ढाड र अनुहारमा आगोले पोलेको छ । घाइते विकको स्थानीय मेडिकलमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

यस्तै सोमबार बिहान साढे तीन बजेक कावासोती नगरपालिका –१६ मा बा ३ च ९३ नम्बरको जीपमा पेट्रोल बम प्रहार भएको छ । बम प्रहरा हुँदा जीपमा सामान्य क्षती भएको छ । मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ ।

नवलपरासीकै बुलिङटार गाउँपालिकामा विस्फोटका लागि राखिएको सिलिण्डर प्रहरीले नियन्त्रणमा लिएको छ । गाउँपालिका अध्यक्ष शशिकिरण बस्ताकोटीको घर नजिकै सिलिण्डर राखी आगो लगाएको अवस्थामा सिलिण्डर पड्कनु अघि नै प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरमा प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया