तिहार : फेरिँदै देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
चितवन - चितवनको रामपुरका झकबहादुर गुरुङ पहिरो खस्ने डरले बिहानै गोरखाको भच्छेक जान परिवारसहित बसमा आउनुभएको थियो । तर, नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तोपेखोलाको छेवैमा खसेको पहिरोले उहाँको यात्रा रोकियो ।
“जरुरी कामका लागि जान लागेको नगै भा’ छैन सर”– पहिरो पन्छाउन खटिएका एकजना प्रहरी अधिकारीलाई उहाँले अनुनय गर्नुभयो ।
प्रहरीको अनुमति पाएपछि उहाँले पहिरो खस्दै गरे पनि हिँडेरै पहिरो छिचोल्नुभयो । पिठ्यूँमा भारीको पोको बोकेर घरी पहिरो खसेतिर नियाल्दै घरी पहिरोको थुप्रोमा दगुर्दै उहाँले तोपेखोला र कालिका खोलाको पहिरो पार गर्नुभयो । “धन्न पहिरो पार भयो,” लामो सास फेर्दै गुरुङले भन्नुभयो – “अब हिँडेरै पनि गइन्छ । तोपेखोलाबाट मुग्लिन आइपुग्न करिब ३ किलोमिटर छ ।”
हिँड्दै गर्दा लोकल रुटमा एउटा गाडी फेला प¥यो । तीन किलोमिटरको दूरीको ५० रुपैयाँ प्रतिव्यक्ति तिरेर उहाँ अपराह्न मुग्लिन आइपुग्नुभयो । उहाँ मात्रै होइन बुधबार यसरी पहिरो खस्दै गर्दा दौडिएर पार गर्ने यहाँ धेरै यात्रु थिए ।
यस्तै, मुग्लिनतर्फबाट गएका यात्रु पनि पोका पुन्तुरासहित आफूले यात्रा गरेको गाडी छाडेर पैदलै पहिरो पार गर्दै थिए । पहिरोमाथि यात्रुको ताँतीले लोडर र डोजरलाई बेलामा काम गर्न पनि समस्या हुन्थ्यो । कामदारहरु रिसाउँथे पनि ।
कोही बिरामी भेट्न आएको भन्दै प्रहरीसँग हारगुहार माग्दै पैदल जान दिन अनुरोध गर्दथे । कोही आफन्त बितेकाले जसरी पनि नगई भएन भन्थे । कोही ‘हामी मरे नि मर्छौं’ भन्दै जबरजस्ती जाने पनि थिए । प्रहरीका अनुसार कहिलेकाहीँ त यात्रुलाई रोक्दा रोक्दै झगडै हुन्थ्यो । यस्ता अटेर गर्ने यात्रुको जिद्दिमाथि प्रहरीको केही सिप चलेन । पहिरो खस्न थाले पछि पुनः भागेर फर्कने यात्रु पनि थिए ।
दिनभर पहिरोग्रस्त क्षेत्रमा खटिनुभएका चितवनका ट्राफिक प्रहरी प्रमुख वेदप्रसाद गौतम यात्रुले नै जबरजस्ती गरेपछि आफूहरुले रोक्नै नसकेको बताउनुहुन्छ । कतिपय विद्यार्थी जाँच छ भन्दै पहिरो पार गरेर जान्थे । उनीहरुको बहानामा अन्य यात्रुहरुले समेत पैदलै यात्रा तय गरेका थिए ।
हिम्मत भएकाहरु हिँडेर पार गर्थे भने कतिपय यात्रु गाडी जहिले गुड्छ, त्यहीबेला जाने भनेर पर्खेका पनि थिए । कतिपय गाडीहरु बीचबाटैबाट फर्किएका थिए । तर जोखिम मोलेर पहिरो छिचोल्दै जानेको संख्या यथेष्टै थियो ।
चितवनको रत्ननगरका अनिल भट्ट बिहान ३ बजे उठेर माइक्रोबसमा काठमाडौँ जान आउनुभयो । पाँच बजे तोपे खोला आइपुग्दा उहाँको यात्रा रोकियो । गाडी नगएपछि उहाँ पुनः चितवन नै फर्कनुभयो ।
चितवनबाट माइक्रोबस लिएर काठमाडौँ आउँदै गरेका भरतपुरका गाडी चालक विकास गुरुङ पनि बिहान ५ बजे तोपेखोला आइपुग्नुभएको थियो । बाटो खुल्छ कि भनेर बिहान ११ बजेसम्म कुर्दा कुनै छनक नपाएपछि उहाँले पनि गाडी भरतपुर नै फर्काउनुभयो ।
यस क्षेत्रमा कतै विद्युत्का तार छिनेका छन्, कतै पोल ढलेका छन् । पहिरोको माटो र ढुंगा त्रिशूली किनारमा यत्रतत्र देखिन्छ । वारपार नै पहिराका लामालामा धब्बा र गाडीका लाइन थिए । महँगोमा खानेकुरासमेत बिक्री वितरण भइरहेका देखिन्थ्यो ।
गत आइतवार बिहान ११ः५० बजेको समयमा तोपेखोला छेउमा ठूलो पहिरो खसेर अबरुद्ध भएको सडक राति आठ बजे सञ्चालनमा आएको थियो । त्यसको केही दिन अघिपनि यहाँ पहिरो गएर घन्टौं सडक बन्द हुन पुगेको छ ।
बुधबार बिहान ५ः३० बजे खसेको पहिरो हटाएर दुईतर्फी सडक खुल्न झण्डै ११ घण्टा लाग्यो । अपराह्न ४ः३० बजे सडक खुल्यो । यो साल मात्रै तोपेखोलामा तीन वटा पहिरो खसिसकेका छन् । बुधबार तोपेखोलासँगै कालिका खोलामा समेत पहिरो खसेको थियो ।
“कमजोर भू–बनोटले गर्दा पहिरो खसेको हो ” नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिवप्रसाद खनाल भन्नुहुन्छ – “अहिलेसम्म तोपेखोलामा मात्रै १४÷१५ पटक पहिरो खसिसक्यो ।”
झन्डै २०० मिटरमाथिबाट पहिरो खस्ने गरेको छ । भित्तोको तल्लोभाग घोप्टो पारेर काटिएको छ । त्यसैले पनि पहिरो खस्न बल पुगेको देखिन्छ । त्यसमाथि कमजोर भू–बनोटले अझै यहाँको धेरै भाग खस्न ठिक्क परेको छ । निस्कन लागेका ढुङ्गा र फुको माटोको भित्तो छ । छेवैमा पहिरो रोक्न लगाइएको रक नेटिङ प्रणाली छ । त्यसको केही तारको भाग समेत पहिरोले लगेको छ ।
बाँकी रक नेटिङलाई समेत बगाउने अवस्था देखिएको छ । तल्लो भागदेखि नै जमिन भस्केकाले यहाँ जाली लगाएर गरिएको रक नेटिङ प्रभावकारी नहोला जस्तो देखिएको बताउनुहुन्छ फिल्डमा खटिनुभएका ओभरसियर प्रकाश भण्डारी ।
पछिल्लो समयमा तोपेखोला, जलवीरे, मुग्लिन डाँडा, कालीखोला, चार किलो र पाँच किलोमा दैनिकजसो नै पहिरो खसिरहेको छ । सानातिना पहिरो दिनमै ५÷६ वटा खसिरहन्छ ।
“न दिनमा भोक छ, न रातमा निन्द्रा,” सिमलतालका प्रहरी इन्चार्ज हेमचन्द्र चौवे पीडा पोख्नुहुन्छ । पानी पर्न थालेपछि सबैतिरबाट चौवेमा दबाब आइपुग्छ । रातारात कुद्नुपरेको उहाँले अनुभव सुनाउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।