गैरकानुनी रुपमा करार सम्झौता गरी कामदार नपठाउन म्यानपावरलाई साउदी दूतावासको आग्रह

 असार ५, २०७६ बिहिबार १६:११:२७ | उज्यालो सहकर्मी

काठमाण्डौ – प्रमाणीकरण भएका मागपत्र प्रतिकूल हुनेगरी गैरकानूनी रुपमा करार सम्झौता नगर्न सबै म्यानपावर कम्पनीलाई साउदीमा रहेको नेपाली दूतावासले आग्रह गरेको छ ।

दूतावासले संकलन गरेको पछिल्लो तथ्याँकले व्यवसायीबीचको अस्वस्थ्य प्रतिष्पर्धाका कारण कामदारको न्यूनतम पारिश्रमिक पनि नपाउने अवस्थामा पर्ने भन्दै गैरकानूनी रुपमा करार सम्झौता नगर्न दूतावासले आग्रह गरेको हो ।

गएको वर्ष २०७५ असोज १९ गतेदेखि सरकारले साउदी जाने कामदारको न्यूनतम पारिश्रमिक एक हजार रियाल र ३ सय खानाका लागि तोकेकाले रोजगारदाता वा कामदार आपूर्तिकर्ताहरुसँग सम्झौता गर्दा यो सुविधा नभएसम्म सम्झौता नगर्न पनि व्यवसायीलाई दूतावासको सुझाव छ । 

‘बुझेर मात्र साउदी जानुहोस्’

साउदी जाने तयारी गरिरहेका कामदारलाई बुझेर मात्र आउन दूतावासले आग्रह गरेको छ ।

पछिल्लो समय नेपालका इजाजत पत्र म्यानपावर व्यवसायीले नै गैरकानुनी रुपमा छुट्टै सम्झौता गरेर कामदार पठाउने गरेको भन्दै दूतावासले सबैलाई सचेत हुन आग्रह गरेको हो ।

सरकारले साउदी जाने कामदारको न्यूनतम तलब एक हजार रियाल र तीन सय खानाको भत्ता तोकेको छ । यो अदक्ष कामदारले पाउने तलब हो । 

दक्षता अनुसारको तलब फरक फरक तोकिएको र त्यही अनुसारको सेवा सुविधा नभएमा मागपत्र प्रमाणीकरण नगर्ने गरेको भए पनि व्यवसायीले छुट्टै करार गरेर पठाउँदा साउदीमा कामदार समस्यामा पर्ने भन्दै सचेत हुन दूतावासले आग्रह गरेको छ । 

‘सरकारको निणर्य अनुसार नै मागपत्र प्रमाणीकरण गरिरहेका छौं,  तर केही व्यवसायीले नेपाल सरकारको निर्णय र राजदूतावासबाट प्रमाणीकरण भएका मागपत्रको प्रतिकूल गैरकानूनी रुपमा छुट्टै सम्झौता गरी कामदार पठाउने गरेका जानकारी पाएका छौं,’ दूतावासले विज्ञप्ति निकालेर भनेको छ । 

सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक र खाना सुविधा रकम भन्दा कम हुने गरी गैरकानुनी हिसाबमा कुनै छुट्टै सम्झौता गरेर कामदार साउदी  जाँदा त्यही दिनदेखि समस्यामा पर्ने र समस्यामा परेकाहरुको उद्दार तथा समस्या समाधान गर्न अत्यन्त कठिन हुने दूतावासले जनाएको छ । 

पछिल्लो समयमा साउदी सरकारले खाद्यान्न लगायत विभिन्न शीर्षकमा मूल्य अभिवृद्धि कर लगाएको छ । त्यो सँगै बजार भाउ पनि आकाशिएकाले थारै कमाइमा सँगै बजारभाउ पनि बढेकाले थोरै तलबमा साउदी जाँदा समस्या हुनसक्ने भन्दै दूतावासले सचेत हुन आग्रह गरेको छ । 

साथै साउदीमा कामदार पठाउने सम्बन्धी मागपत्र प्रमाणीकरणका लागि जाँदा विभागले जारी गरेको फोटोसहितको परिचयपत्र र सम्बन्धित म्यानपावर कार्यालयले जारी गरेको अधिकारपत्र पनि लिएर आउन दूतावासले आग्रह गरेको छ ।

कार्यालयको प्रमुख स्वयं आउने भएमा वैदेशिक रोजगार विभागको परिचयपत्र पेश गर्नु पर्ने छ । 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया