पछिल्लो चार महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या घट्यो

 असार ५, २०७६ बिहिबार १८:३५:३५ | रासस

काठमाण्डौ – पछिल्लो चार महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको  छ । 

वैदेशिक रोजगार विभागको तथ्याँक अनुसार गएको जेठमा ४३ हजार ६५४ युवाले अन्तिम श्रम स्वीकृति लिएका छन । वैशाखमा ४८ हजार ७५६, चैतमा ४४ हजार ९०५ तथा  फागुनमा ४४ हजार ६८८ युवा रोजगारीका लागि विदेश गएका छन् । 

चालु आर्थिक वर्षमा सरकारले बेरोजगार युवालाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउन ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ र युवा उद्यमशीलता प्रवद्र्धन गर्न विभिन्न प्रकारका सहुलियत कर्जा कार्यक्रम ल्याएको छ ।

त्यसैगरी वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उनीहरुले सिकेका सीपका आधारमा स्वरोजगार बन्नका लागि सहुलियत ब्याजमा कर्जा दिने काम पनि सुरु भएको छ ।

सरकारले ल्याएको युवा लक्षित कार्यक्रमको प्रभावका कारण नै वैदेशिक रोजगारीमा जाने क्रम घटेको सरकारको दावी छ । वैदेशिक रोजगारीमा जाने कामदारलाई दक्ष र  सीपयुक्त बनाएर पठाउने नीति लिइएको भए पनि धेरैजसो अदक्ष कामदार नै विदेश गएका छन् । 

जेठ महिनामा मात्रै २३ हजार ३३६ पुरुष र एक हजार ६६७ महिला गरी २५ हजार तीन अदक्ष कामदार विदेशिएको विभागले जनाएको छ । १४ हजार ६०३ दक्ष, तीन हजार ९६३ अर्धदक्ष, ७६ जना व्यावसायिक सीप हासिल गरेका युवा वैदेशिक रोजगारीमा गएका छन् । 

सीप नभएका कामदारलाई विदेश जान अप्ठ्यारो

पछिल्लो समय सरकारले व्यावसायिक सीप नसिकेका कामदारलाई वैदेशिक रोजगारीमा जान कडाइ गर्ने नीति ल्याएको छ । विभागले यही असार १५ गतेदेखि  १२ प्रकारका कामका लागि सीप सिकेको प्रमाणपत्र पेश गरेर मात्र श्रम स्वीकृति प्रदान गर्ने जनाएको छ ।

सीप नसिकेका व्यक्तिलाई वैदेशिक रोजागर बोर्डमार्फत सीपयुक्त बनाउने काम पनि सुरु भैसकेको छ । 
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया