यो वर्ष मात्रै कुवेत, साउदी लगायतका देशबाट ३११ जनाको उद्धार

 असार ३०, २०७६ सोमबार १४:४३:५२ | रासस

काठमाण्डौ – यो वर्ष मात्रै वैदेशिक रोजगारीका नाममा कुवेत साउदी लगायतका देशमा मानव बेचबिखन तथा ओसारपसारमा परेका ३११ जनालाई उद्धार गरी नेपाल फकाइएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले पछिल्लो समयमा दलालको फन्दामा परी कुवेतमा बिचल्लीमा परेका नुवाकोट शिवपुरी गाउँपालिकाकी अनु तामाङको घरफिर्तीका लागि पनि पहल गरिरहेको जनाएको छ ।

मानव बेचबिखन गर्ने उद्देश्यले भारतको मणिपुर हुँदै अवैध तवरबाट तेस्रो मुलुकतर्फ लैजान लागिएको बेला भारतबाट १७९ जनाको उद्धार गरिएको छ । जसमा ३२ पुरुष र १४७ जना महिला छन् ।

पछिल्लो समय राम्रो काम र कमाइको प्रलोभवमा पारेर भारत, म्यानमार, कुवेत, साउदी लगायतका देशमा मानव बेचबिखन तथा ओसारपसारका घटन बढ्न थालेपछि नियन्त्रणका लागि कदम थालिएको पनि मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माले जानकारी दिनुभयो ।

पछिल्लो समयमा गैरकानूनी रुपमा विभिन्न प्रलोभन देखाएर नेपाली महिला विदेशमा लगी बिचल्ली बनाउने गिरोहको सक्रियता बढेसँगै सरकारले नियन्त्रणका लागि सक्रियता बढाएको हो ।

मन्त्रालयले बेचबिखन नियन्त्रणका लागि सिन्धुपाल्चोक र मकवानपुरलगायत जोखिममा रहेका जिल्लाको अध्ययन गरिरहेको छ । यी जिल्लामा मानव बेचबिखनको अवस्थाबारे अध्ययनपछि मन्त्रालयले आगामी आर्थिक वर्षमा सचेतनामूलक कार्यक्रम, आयआर्जन र सीपमूलक कार्यक्रम सञ्चालन गर्नाका साथै मानव बेचबिखन न्यूनीकरणका लागि अभियान नै सञ्चालन गर्ने योजना बनाएको छ ।

मन्त्रालयकै सक्रियातामा गैरकानूनी रुपमा विदेश गएर बिचल्लीमा परेका महिलालाई सुरक्षित साथ स्वदेश फर्काउने कार्यलाई तीव्रता दिइएको छ ।

गैरकानूनी रुपमा विदेश जानु हुँदैन भन्ने थाहा हुँदाहुँदै पनि दोस्रो र तेस्रो पटकसम्म जाने र समस्यामा परेपछि सरकारलाई हारगुहार गर्ने प्रचलन बढ्दै गएकाले पनि मन्त्रालयले नियमावली संशोधन गर्ने तयारी गरेको हो ।

ऐनअनुसार कुनै न कुनै रुपमा शोषण गर्ने वा नाफा कमाउने उद्देश्यले प्रलोभनमा पारी झुक्याई, डरत्रास देखाई कुनै पनि व्यक्तिलाई उसको इच्छा विपरीत जबर्जस्ती कुनै पनि कार्य गर्न बाध्य तुल्याइने अवस्थालाई मानव बेचबिखन भनिएको छ । श्रमको बढ्दो मागसँगै विश्वमा मानव बेचबिखन तथा ओसारपसार पनि झन् बढ्दै गएको छ ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया