११ महिनामा आठ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो, व्यापार घाटा १२ खर्ब नाघ्यो

 साउन ४, २०७६ शनिबार ६:४७:२१ | रासस
unn.prixa.net

काठमाण्डाै - आर्थिक वर्ष २०७५-७६ को एघार महिनाको अवधिमा आठ खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स  भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थित’मा सात खर्ब ९९ अर्ब दुई करोड रेमिट्यान्स भित्रिएको उल्लेख छ ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको त्यही अवधिमा रेमिट्यान्स आप्रवाह ७.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा भने रेमिट्यान्स आप्रवाह ८.१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.७ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ‘ट्रान्सफर’ १६.६ प्रतिशतले वृद्धि भई रु नौ खर्ब पाँच अर्ब १४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्राप्ति ०.१ प्रतिशतले बढेको थियो ।

अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या त्याे अवधिमा ३७.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको त्यही अवधिमा यस्तो सङ्ख्या ८.२ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या भने समीक्षा अवधिमा ५.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १.६ प्रतिशतले घटेको थियो ।

काठमाण्डाै उपत्यकामा मूल्यवृद्धि

केन्द्रीय बैंकका अनुसार २०७६ जेठ महिनामा उपभोक्ता मुद्रास्फीति काठमाण्डाै उपत्यकामा ७.१ प्रतिशत रहेको छ । हिमालमा ६.५, तराईमा ५.८ र पहाडमा ५.७ प्रतिशत मूल्य वृद्धि रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ३.१, ६.४ र ४.२ र ४.९ प्रतिशत रहेको थियो ।

नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.२० प्रतिशत र भारतको ३.१८ प्रतिशत छ । अघिल्लो वर्षको त्यही अवधिमा नेपालको मुद्रास्फीति ४.१ र भारतको पाँच प्रतिशत रहेको थियो । 

व्यापार घाटा १२ खर्ब नाघ्यो

आर्थिक वर्ष २०७५-७६ को ११ महिनामा कुल वस्तु व्यापार घाटा १७.२ प्रतिशतले बढेर १२ खर्ब ११ अर्ब ९७ करोड पुगेको छ । निर्यात आयात अनुपात ६.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा त्याे अनुपात ६.७ प्रतिशत रहेको थियो ।

वस्तु आयात गरिने देशका आधारमा भारतबाट १५.१ प्रतिशत, चीनबाट ३०.७ र अन्य मुलुकबाट भएको आयात १६.१ प्रतिशतले बढेको छ । पेट्रोलियम पदार्थ, हवाईजहाज तथा पाटपूर्जा, तयारी पोशाक, विद्युतीय सामानलगायतको वस्तुको आयात बढेको छ भने सिमेन्ट, यातायातका साधन तथा पाटपूर्जा, दूरसञ्चारका उपकरण, स्वास्थ्य उपकरण तथा औजार, कच्चा भटमास, तेललगायतका वस्तुको आयात घटेको छ ।

भन्सार नाकाका आधारमा निर्याततर्फ रसुवा भन्सार कार्यालय, सुख्खा बन्दरगाहा र नेपालगञ्ज भन्सार कार्यालय बाहेक अन्य मुख्य भन्सार नाकाबाट निर्यात वृद्धि भएको छ । आयाततर्फ भने कृष्णनगर भन्सार कार्यालय बाहेक अन्य मुख्य भन्सार नाकाबाट आयात बढेको केन्द्रीय बैंकले जनाएको छ । 

शोधनान्तर घाटा ९० अर्बमाथि

केन्द्रीय बैंकका अनुसार गएकाे जेठ मसान्तसम्म शोधनान्तर स्थिति ९० अर्ब ८३ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको त्यही अवधिमा शोधनान्तर स्थिति चार अर्ब ३४ करोडले घाटामा थियो ।

समीक्षा अवधिमा पूँजीगत ‘ट्रान्सफर’ १३ अर्ब ८८ करोड र प्रत्यक्ष वैदेशिक लगानी ११ अर्ब ८१ करोड छ । अघिल्लो वर्षको पूँजीगत ‘ट्रान्सफर’ १५ अर्ब दुई करोड र प्रत्यक्ष वैदेशिक लगानी १५ अर्ब ८८ करोड रहेको थियो । 

विदेशी सञ्चिति घट्यो

गएकाे जेठ मसान्तसम्म कूल विदेशी विनिमय सञ्चिति १० खर्ब ३० अर्ब ८८ करोड रहेको छ । २०७५ असार मसान्तमा त्यस्तो सञ्चिति ११ खर्ब दुई अर्ब ५९ करोड थियो । २०७५ असार मसान्तमा अमेरिकी डलरमा यस्तो सञ्चिति १० अर्ब ८ करोड रहेकामा गत जेठ मसान्तमा नौ अर्ब २५ करोड रहेको छ ।

कूल विदेशी सञ्चितिमध्ये केन्द्रीय बैंकमा २०७५ असार मसान्तमा नौ खर्ब ८९ अर्ब ४० करोड रहेकोमा गत जेठ मसान्तमा आठ खर्ब ८५ अर्ब ८३ करोड रहेको छ । 

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया