कर्जन्हा नगरपालिकाको कार्यालयमा आगलागी

 असार २७, २०७५ बुधबार १६:१२:२३ | आशिष विश्वकर्मा
unn.prixa.net

सिरहा – सिरहाको कर्जन्हा नगरपालिकाको कार्यालय सोमबार नचिनेको समूहले आगो लगाएको छ ।

आगलागीबाट कर्जन्हा–११, बगहामा रहेको अस्थायी कार्यालयको ढोका, कार्पेट र एउटा टेबुल जलेर नष्ट भएको छ । आगो राती नै प्रज्वलनशील पदार्थको प्रयोग गरी लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको नगरप्रमुख गंगा पासवानले जानकारी दिनुभयो । 

उहाँले आगलागीबाट ठूलो क्षति नभए पनि यसले नगरपालिकामा ठूलो असर परेको बताउनुभयो । 

‘हामीले हाम्रो तरिकाले पनि खोजलास गरिरहेका छौं, प्रहरीले पनि आफ्नो तरिकाले खोजी गरिरहेको छ’, मेयरले भन्नुभयो, ‘कसले किन आगो लगायो भन्नेबारे छिट्टै खुलासा हुन्छ ।’ कार्यालय गाउँसँगै जोडिएर रहेको भए पनि बिहानपखमात्र आगो लागेको जानकारी पाएको मेयरले बताउनुभयो ।

प्रहरीले घटना शंस्कास्पद भएको भन्दै नगरका पदाधिकारीहरुसँग बसेर छलफल गरिसकेपछि मात्र के भएको हो भन्न सकिने बताएको छ । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

घटना सार्वजनिक भए लगतै स्थानीय बासिन्दाले नगरको कार्यालय अन्यन्त्र सार्न नगरप्रमुख आफैले आगो लगाएको आरोपमा पूर्व–पश्चिम लोकमार्गको कर्जन्हा ११ बगहाको सडकमा टायर बालेर एक घण्टा चक्का जाम गरेका थिए । 

सोमबार नगरकापालिकाको स्थायी कार्यालय कहाँ राख्ने भन्ने विषयमा छलफल भएको थियो । छलफलमा फरक–फरक तीन ठाउँमा कार्यालय राख्ने विषमा चर्काचकी नै भएको स्थानीय बिन्दे महतोले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १६, २०८०

आशिष विश्वकर्मा

आशिष विश्वकर्मा सिरहाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया