सामाजिक सुरक्षा कोषमा आबद्ध हुने म्याद एक महिना थपियो

 कात्तिक ७, २०७६ बिहिबार १७:४०:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध हुने समयावधि एक महिना थप गरेको छ ।

सामाजिक सुरक्षा कोषले बिहीबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी यस कोषमा सूचीकृत  हुनका लागि एक महिनाको समय थप गर्ने जानकारी गराएको हो । 

ठूलो संख्यामा सूचीकरण हुन बाँकी रहेकाले सामाजिक सुरक्षा कोषमा सूचीकृत हुनका लागि एक महिना थप गर्ने निर्णय गरिएको कोषका प्रमुख कपिल ज्ञवालीले जानकारी दिनुभयो ।

सरकारले यसअघि असोज मसान्तभित्र निजी क्षेत्रका सबै औद्योगिक प्रतिष्ठानहरुलाई कोषमा आबद्ध हुने मौका दिएको थियो ।

अहिलेसम्म कोषमा ८ हजार ८ सय १८ जना रोजगारदाताहरु सूचीकृत भएका छन भने यस कोषमा योगदान गर्नेहरुको संख्या १ लाख ९ सय ६८ पुगेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 

पत्रकार सम्मेलनमा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रमिकहहरुको जीवनस्तरलाई माथि उठाएर मात्रै देशलाई समृद्ध बनाउन सकिन्छ भन्ने निष्कर्षका साथ सरकारले सामाजिक सुरक्षा कोषको कामलाई अघि बढाएकाले त्यसमा साथ दिन सबैलाई आग्रह गर्नुभयो । 

उहाँले सामाजिक सुरक्षा कोष श्रमिकको हितमा रहेकाले यसबाट सरकार कुनै पनि हालतमा पछि हट्न नसक्ने पनि स्पष्ट पार्नुभयो ।

सरकारले गएको साउन १ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया