अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
गोरखा – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अर्को निर्णय नगरे गोरखाका ६ हजारभन्दा बढी भूकम्प पीडितले दोस्रो किस्ताको अनुदान रकम नपाउने भएका छन् ।
प्राधिकरणले जेठ मसान्तभन्दा पहिले नै लाभग्राही सूचीमा परेकाहरुलाई कात्तिक मसान्तसम्ममा दोस्रो किस्ताको अनुदान रकम लिइसक्न भनेको थियो । तोकिएको समयभित्र दोस्रो किस्ताको रकम नलिनेलाई अनुदान रकम नदिने प्राधिकरणको निर्णय छ ।
यसअनुसार ६ हजार तीन सय ६० जनाले दोस्रो र तेस्रो किस्ताको अनुदान रकम नपाउने भएका हुन् । जिल्लामा अहिलेसम्म लाभग्राहीको संख्या ७१ हजार एक सय ७६ पुगेको छ । त्यसमध्ये ६७ हजार एक सय ६८ जनाले अनुदान सम्झौता गरी पहिलो किस्ताको अनुदान रकम लिएका छन् । तर दोस्रो किस्ताको अनुदान रकम लिनेको संख्या भने ६० हजार आठ सय आठ मात्रै रहेको छ ।
६ हजार तीन ६० लाभग्राहीले पहिलो किस्ताको अनुदान रकम लिए पनि कात्तिक मसान्तभित्र दोस्रो किस्ताको अनुदान रकम नलिएका हुन् । यदि प्राधिकरणले समय सीमा थप नगर्ने हो भने उनीहरुले दोस्रो र तेस्रो किस्ताको अनुदान रकम नपाउने प्राधिकरणअन्तर्गतको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाइले जनाएको छ ।
तर जेठ मसान्तभन्दा पछि लाभग्राही सूचीमा परेकाहरुसहित गुनासोबाट थप भएका लाभग्राही, जोखिम क्षेत्रका लाभग्राही, भूमिहीन लाभग्राही, सार्वजनिक जग्गामा घर बनाउन अनुमति पाएका लाभग्राही, पुनरावेदन समितिबाट कायम भएका लाभग्राही र प्रवलीकरण गर्नुपर्ने लाभग्राहीले भने आउँदो असार मसान्तसम्मै अनुदान रकम पाउनेछन् ।
पुननिर्माण प्राधिकरणले गएको असोज २९ गते गरेको निर्णयअनुसार यस्ता लाभग्राहीले २०७७ साल असार मसान्तभित्र तेस्रो किस्ताको अनुदान लिइसक्ने कबुलियतनामा गरेपछि क्रमैसँग किस्ता रकम पाउनेछन् ।
यस्तै कात्तिक २७ गते अर्को निर्णय गर्दै प्राधिकरणले विशेष कारणवश अनुदान सम्झौता हुन नसकेका लाभग्राही पनि कात्तिक मसान्तभित्र दोस्रो किस्ता लिन बाध्य नहुने बताएको छ । तर उनीहरुले कुन कारणले अनुदान सम्झौता गर्न नसकेका हुन् भनेर सम्बन्धित स्थानीय तहबाट मनासिव कारणसहितको सिफारिस बनाउनु पर्ने प्राधिकरणले जनाएको छ ।
यस्ता लाभग्राहीको विवरण मंसीर मसान्तभित्र पठाइसक्नु पर्ने अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाइका प्रमुख रामशरण आचार्यले बताउनुभयो ।
जिल्लामा अहिलेसम्म ५५ हजार नौ सय ३२ लाभग्राहीले घर निर्माण पूरा गरी तेस्रो किस्ताको अनुदान रकम लिएका छन् । दोस्रो किस्ता लिएर तेस्रो नलिनेको संख्या चार हजार आठ सय ७६ रहेको छ । उनीहरुले पनि माघ मसान्तसम्ममा तेस्रो किस्ताको रकम लिइसक्नु पर्ने प्राधिकरणले जनाएको छ ।
उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ ।