बुढीगण्डकी आयोजनाको बाँकी क्षेत्रको मुआब्जा निर्धारण ‘आजै’

 मंसिर ११, २०७६ बुधबार १४:५४:२ | किरण लोहनी
unn.prixa.net

फाइल फाेटाे

गोरखा - बुढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रमा पर्ने गोरखाको आरुघाट र आर्खेत बजारको मुआब्जा निर्धारणको अन्तिम तयारी सुरु भएको छ ।

जिल्ला मुआब्जा निर्धारण समितिले बुधबार दिउँसो ४ बजे बैठक बसेर मुआब्जा निर्धारणसम्बन्धी निर्णय गर्ने तयारी गरेको हो । ‘हामीले सबै तयारी पूरा गरिसकेका छौँ, जग्गा प्राप्ति ऐनअनुसार बन्ने मुआब्जा निर्धारण समितिका सबै प्रतिनिधिहरुको बैठक बस्दैछौँ’, गोरखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले भन्नुभयो, ‘सम्भवतः आजै केही निर्णय हुन सक्छ, आज हुन नसके पनि हामी यसलाई एक साताभन्दा पर लैजाने मुडमा छैनौँ ।’ आयोजना प्रभावित गोरखा र धादिङका मुआब्जा निर्धारण समितिका सदस्यहरुको संयुक्त बैठक बसेर मुआब्जासम्बन्धी निर्णय सार्वजनिक गर्ने तयारी गरिएको छ ।

उनीहरु गोरखाको घ्याल्चोकस्थित बुुढीगण्डकी आयोजनाको इकाई कार्यालयमा जम्मा भैसकेका छन् । त्यसअघि दुवै जिल्लाका सुरक्षा अधिकारीहरुको अन्तरजिल्ला समन्वय बैठक पनि बसेको छ । यद्यपि त्यो बेठक मुआब्जा निर्धारणसँग प्रत्यक्ष रुपमा सम्बन्धित नरहेको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताउनुभयो ।

मुआब्जा रकम सिफारिस गर्नका लागि बनाइएको कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा मुआब्जा निर्धारणको काम अघि बढाइएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताउनुभयो । जग्गा प्राप्ति ऐन २०३४ अनुसार मुआब्जा निर्धारण समितिमा प्रमुख जिल्ला अधिकारीसहित सम्बन्धित आयोजनाले तोकेको प्रतिनिधि, मालपोत कार्यालयका प्रतिनिधि र आयोजनास्थलको स्थानीय तहका प्रतिनिधि सदस्य रहने व्यवस्था छ ।

बुढीगण्डकी डुबानमा पर्ने गोरखाको आरुघाट क्षेत्रमा ५ सय ३७ र आर्खेत आसपास ७२ रोपनी जग्गाको मुआब्जा निर्धारण गर्न बाँकी छ । दुवै जिल्लाको झण्डै १ हजार ७ सय रोपनी जग्गको मुआब्जा निर्धारण गर्न बाँकी रहेको छ । मुआब्जा रकम सिफारिस गर्न बनेको अन्तिम कार्यदलले घरजग्गालाई ११ समूहमा वर्गीकरण गरी मूल्य सिफारिस गरेको छ ।

डुबानमा पर्ने बजारक्षेत्रको जग्गाको कित्ताकाट गरी नापी र मालपोत कार्यालयले गएको कात्तिक ७ गतेनै प्रतिवेदन बुझाइसकेका छन् । अब सबै तयारी पूरा भएकाले मुआब्जा निर्धारण समितिको बैठक बसी निर्णय सार्वजनिक गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया