भारतसँग ठूलो मात्रामा बिजुली किनबेच गर्न सकिने ढल्केबर सबस्टेसनको काम अन्तिम चरणमा

 मंसिर १९, २०७६ बिहिबार १६:३८:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल–भारत विद्युत व्यापार र देशभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरणका लागि धनुषाको ढल्केबरमा निर्माणाधीन ४ सय केभीको  सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ ।

पुसभित्र (डिसेम्बर २०१९) निर्माण सम्पन्न गरी सञ्चालन गर्ने  लक्ष्यका साथ जीआईएस प्रविधियुक्त स्वचालित सबस्टेसनको काम भइरहेको छ । देशभित्र पूर्व–पश्चिम विद्युत आपूर्ति र भारतसँग विद्युत व्यापारका लागि ढल्कबेर सबस्टेसन ठूलो हब बन्ने छ ।

सबस्टेसन चार्ज भएपछि नेपाल–भारतबीच झण्डै एक हजार मेगावाट विद्युत् आयात निर्यातका लागि पूर्वाधार तयार हुने छ । साथै ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहज रुपमा प्रवाह गर्न र देशभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न सकिने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।

‘सबस्टेसनमा रहने ट्रान्सफर्मरको क्षमता ९ सय ४५ केभीए छ, २ सय २० केभी प्रसारण लाइनमार्फत ढल्केबर सबस्टेसनमा आएको विद्युत्लाई त्यहाँबाट आन्तरिक खपतका लागि पूर्व र पश्चिम पठाउन सकिन्छ, वर्षायाममा बढी भएको खण्डमा  ढल्केबर–मुजफ्फरपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत भारतमा सिधै निर्यात गर्न सकिन्छ’, घिसिङले भन्नुभयो, ‘हिउँदमा आवश्यक परेमा न्यूनतम ६ सय मेगावाट आयात गर्न सकिन्छ भने दुई देशबीच इनर्जी बैकिङ गर्नसमेत बाटो खुल्ने छ ।’

दुई देशबीच इनर्जी बैकिङ गर्ने सैद्धान्तिक सहमति भइसकेको छ । ढल्केबर–मुजफ्फरपुर ४ सय केभी क्रसबोर्डर प्रसारण लाइने २ सय २० केभीमा सञ्चालनमा छ । ढल्केबरमा सबस्टेसन निर्माण सम्पन्न भएपछि यो लाइन ४ सय केभीमा सञ्चालन हुने छ ।

माथिल्लो तामकोशीबाट असारभित्रमा विद्युत उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको छ । आयोजनाबाट उत्पादित विद्युत्लाई दोलखाको गोंगरबाट २ सय २० केभी डबल सर्किट प्रसारण लाइनमार्फत खिम्ती हुँदै ढल्केबर ल्याइने छ । यसका लागि आयोजनाले गोंगर–खिम्ती प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुर्याएको छ । खिम्ती–ढल्केबर प्रसारण लाइन यसअघि नै सञ्चालनमा आइसकेको छ ।

सबस्टेसनको कन्ट्रोल रुम रहने भवनसहित अन्य उपकरणहरु रहने भौतिक संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ ।  सबस्टेसनमा रहने तीन वटा ट्रान्सफर्मरमध्ये एउटा निर्माणस्थलमा आइसकेको छ । बाँकी दुई वटा एकहप्ताभित्र आयोजनास्थलमा ल्याइसकिने छ । यसैगरी, ८० एमभीएआर क्षमताको रियाक्टर पनि ल्याइसकिएको छ । अन्य उपकरणहरु निर्माणस्थलमा आइसकेका छन् ।  उपकरणहरुको जडान धमाधम भइरहेको छ ।

सबस्टेसनमा ३ सय १५एमभीएका तीन वटा गरी ९ सय ४५ एमभीए क्षमताको ट्रान्सफर्मर रहने छन् । जसले झण्डै नौ सय मेगावाट विद्युत्लाई प्रसारण गर्न सक्दछन् ।

नेपाल सरकार र विद्युत प्राधिकरणको झण्डै दुई अर्ब रुपैयाँ लगानीमा निर्माणाधीन ४००÷२२० केभीको ढल्केबर सबस्टेसन ४ सय केभी प्रणालीमा आधारित नेपालकै पहिलो सबस्टेसन हो । सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षभित्रमा ४ सय केभीको ढल्केबर सबस्टेसन निर्माण सम्पन्न गरी संचालनमा ल्याउने घोषणा गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मंगलबारे निर्माण कार्यको स्थलगत निरीक्षण गरी तोकिएकै समयमा सम्पन्न गर्न आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीलाई निर्देशन दिनुभएको छ ।

‘सबस्टेसन रहने तीन वटा ट्रान्सफर्मरमध्ये कम्तिमा पनि एउटा  पुसभित्र (डिसेम्बर २०१९) भित्र चार्च गरिसक्नु पर्छ, यसका लागि काम गर्ने जनशक्ति थप्नुहोस्’, उहाँले निर्देशन दिनुभयो ।

सबस्टेसन निर्माण भारतीय  भारतीय कम्पनी एबीबी र परामर्शदाताको काम नेपाली कम्पनी एनईए इन्जिनियिरिङले गरिरहेको छ ।

प्राधिकरण र कम्पनीबीच सबस्टेसन निर्माणका लागि ८ डिसम्बर २०१७ मा ठेक्का सम्झौता भएको थियो । प्राधिकरणले मकवानपुरको हेटौडा र सुनसरीको इनरुवामा पनि ४००/२२० केभीको सबस्टेसन निर्माण गरिरहेको छ । 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया