सुनको भाउ आउँदो १० वर्षमा प्रति औंस ५ हजार डलर पुग्ने अनुमान छ

 चैत ५, २०८१ मंगलबार १८:६:५६ | दियश रत्न शाक्य
unn.prixa.net

पछिल्लो समय सुनको भाउ बढिरहेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल शुरू भएपछि नयाँ–नयाँ नीति आउन थाल्यो । जब ट्रम्पको नयाँ नीति आउन थाल्यो, त्यसपछि सुनचाँदीको भाउ झनै बढ्यो । ट्रम्पद्वारा विभिन्न देशबाट आउने सामानमा भन्सार शुल्क बढाउने काम भयो । साथै ४० वटाभन्दा बढी देशलाई भिसामा प्रतिबन्ध लगाउने निर्णयसमेत भयो । यस्ता निर्णयबाट विश्वको आर्थिक क्षेत्रमा अविश्वास पैदा भएको छ । ट्रम्पले सबै चिनियाँ सामानमा २५ प्रतिशतसम्म कर बढाएपछि चीनले पनि अमेरिकी कृषि उत्पादनहरूमा १० देखि १५ प्रतिशत शुल्क लगाउने घोषणा गरेको छ । यस्तै युरोपबाट अमेरिकामा जाने रक्सीमा समेत दुई सय प्रतिशतसम्म भन्सार शुल्क बढाइएको छ । यसले विश्व आर्थिक बजारमा हलचल भयो । यही कारणले गर्दा शेयर बजार तल झर्‍यो । अहिले सुनको भाउ बढ्नुमा डलरको भाउ घट्नु पनि मुख्य कारण हो । त्यसैले आज सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । नेपालमा सुनको भाउ आज अहिलेसम्मकै उच्च विन्दुमा पुगेर तोलाको एक लाख ७५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पको नीतिबाहेक विभिन्न देशहरूबीच भइरहेका युद्धका कारण पनि सुनको भाउ बढेको हो । युक्रेन–रुसबीचको युद्ध र मध्यपूर्वी देशहरूमा भएका युद्धले पनि सुनको भाउ बढ्नुमा मलजल गरेको छ ।

१० वर्षमा प्रति औंस ५ हजार डलर पुग्ने अनुमान

अमेरिकाको आर्थिक नीति परिवर्तन भइरह्यो भने सुनको भाउ लगातार बढिरहन्छ । विदेशमा सुनको भाउ एक वर्षमा झन्डै ३९ प्रतिशतले बढिको छ । अहिलेसम्म कहिले पनि यसरी बढेको थिएन । नेपालमा पनि भन्सार शुल्कका कारण सुनको भाउ पछिल्लो एक वर्षमा ४७ प्रतिशतले बढेको छ । यो भनेको बैंकको ब्याजदर औसतमा ८ प्रतिशत मान्ने हो भने पनि सुनको भाउमा १२ गुणा बढेको छ । बाहिरका देशहरूको अनुमानित तथ्याङ्कानुसार सुनकाे आउँदो १० वर्षभित्रमा ६० प्रतिशतले वृद्धि भएर प्रति औंस पाँच हजार डलरसम्म पुग्ने अनुमान गरिएको छ । अहिले सुनको भाउ तीन हजार डलरको हाराहारीमा छ ।

सुनको भाउ बढ्दा फाइदा र घाटा हुने क्षेत्र 

सुनको भाउ बढ्दा घाटा बढी हुन्छ । मोबाइल प्रयोग हुने चिपहरूमा यसको प्रयोग हुन्छ । यसैगरी बैंकको स्टक, ल्यापटप, औधोगिक कामहरूमा सुनको प्रयोग हुन्छ । त्यसैले सबैभन्दा घाटा आर्थिक क्षेत्रलाई पर्छ । सुनको भाउ बढेपछि उद्योगहरूले कम खपत गर्न थाल्छन् । यस्तै गहना बनाउने उद्योगलाई पनि घाटा हुन सक्छ, किनकि उच्च भाउले उनीहरूको उत्पादन लागत बढाउँछ र गहना बिक्रीमा कमी आउन सक्छ । यसैगरी जसले व्यक्तिगत प्रयोगका लागि सुन किन्ने योजना गरेका हुन्छन्, तिनीहरूलाई घाटा लाग्छ । उच्च भाउले उनीहरूको बजेटलाई प्रभावित गर्न सक्छ र उनीहरूले कम सुन खरिद गर्न सक्छन् । उच्च भाउले अन्य सामानको मूल्य पनि प्रभावित गर्न सक्छ जसले गर्दा समग्रमा महँगी बढ्छ र उपभोक्ताको खर्चमा वृद्धि हुन सक्छ ।

तर सुनको भाउ बढ्दा सुन व्यापारीलाई पाइदा हुन सक्छ । उनीहरूले पहिले किनिएको सुन महँगो मूल्यमा बेचेर मुनाफा कमाउन सक्छन् । यस्तै जो व्यक्तिहरूले सुनमा लगानी गरेका छन्, उनीहरूको लगानीको मूल्य बढ्छ । यस्ता लगानीकर्ताहरूले उच्च मूल्यमा बेचेर राम्रो मुनाफा प्राप्त गर्न सक्छन् । यसैगरी सुनको खानी र उत्पादन गर्ने उद्योगका लागि भाउ बढ्नु आर्थिक दृष्टिले फाइदाजनक हो । उत्पादनको मूल्य बढ्दा तिनीहरूले बढी आम्दानी गर्न सक्छन् ।

(नेपाल सुनचाँदी व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष एवम् सुनचाँदी दर भाउ प्रकाशन समितिका संयोजक दियश रत्न शाक्यसँग विकाश चापागाईँले गरेको कुराकानीमा आधारित ।)

अन्तिम अपडेट: चैत ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दियश रत्न शाक्य

शाक्य नेपाल सुनचाँदी व्यवसायी महासघंका वरिष्ठ उपाध्यक्ष एवम् सुनचाँदी दर भाउ प्रकाशन समितिका संयोजक हुनुहुन्छ । 
 

तपाईको प्रतिक्रिया