गोरखा–काठमाण्डौ ‘एकीकरण पदमार्ग’ : यसरी गर्न सकिन्छ यात्रा

 पुस २०, २०७६ आइतबार १४:२५:१० | किरण लोहनी
unn.prixa.net

गोरखा – विसं २०३१ सालमा पृथ्वी राजमार्ग चालु हुनुअघि काठमाण्डौबाट पश्चिमी भेगका बासिन्दा राजधानी काठमाण्डौसम्म पैदलै ओहोरदोहोर गर्थे । 

काठमाण्डौबाट पश्चिमतर्फ गोरखासम्मको यही बाटोलाई नेपाल सरकारले एकीकरण पदमार्गका रुपमा विकास गर्न थालेको छ । अहिलेको नुवाकोटको त्रिशुली किनारसम्म फैलिएको गोरखा राज्य विस्तारका क्रममा पृथ्वीनारायण शाह र उनका फौज ओहोरदोहोर गरेको बाटोलाई एकीकरण पदमार्गका रुपमा विकास गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तयारी छ । 

नुवाकाेटकाे सामरीमा रहेकाे भत्केकाे पाैवा

पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट र विसं १८२५ मा काठमाण्डौ राज्य जितेका थिए । त्यस क्रममा उनी दर्जनौँ पटक गोरखादेखि नुवाकोट हुँदै काठमाण्डौसम्म ओहोरदोहोर गरेको इतिहासमा भेटिन्छ । 

लडाइँको तयारीका क्रममा उनले ठाउँठाउँमा गढी, किल्ला र कोटहरु निर्माण गरे । कतिपय संरचनाको भग्नावशेष अझै पनि देख्न सकिन्छ । त्यसबाहेक बटुवाहरुको बसोबासका लागि बनाइएका पाटी, पौवा, ऐतिहासिक मठमन्दिर लगायत पुरातात्विक संरचना बाटो आसपास प्रशस्तै देख्न सकिन्छ । 

यही पदमार्गको प्रचारप्रसारका लागि भन्दै नेपाली सेनाले गोरखाबाट काठमाण्डौसम्मको पदयात्रा पनि सुरु गरेको छ । गएको शुक्रबार गोरखा दरबारबाट सुरु भएको यात्रा धादिङ, नुवाकोट हुँदै पुस २६ गते काठमाण्डौ पुग्ने रणसिंह दल गणका गणपति उज्ज्वल केसीले बताउनु भयो । 

ऐतिहासिक महत्वको एकीकरण अभियानलाई हर्षाेल्लासका साथ मनाउन र 'नेपाल भ्रमण वर्ष २०२०' को प्रचारप्रसारका लागि पदयात्रा गरिएको सेनाले जनाएको छ । 

गाेरखा दरबार क्षेत्र

अग्रज पुस्ताले वर्षौंसम्म हिँडेको यो पैदलबाटो कस्तो छ त ? सेनाले पदयात्रा सुरु गरेपछि यो बाटोबारे धेरैको चासो बढेको छ । गोरखाबाट धादिङ, नुवाकोट हुँदै काठमाण्डौसम्मको यात्रा चार दिनमा गर्न सकिन्छ । 

पहिलो दिन 

एकीकरण पदमार्गको यात्रा ऐतिहासिक गोरखा दरबारबाट सुरु हुन्छ । गोरखा दरबार नजिकैको हनुमान भञ्ज्याङ, काठमाण्डौको हनुमानढोकाबाट २६ कोसको दुरीमा रहेको छ । त्यहाँबाट पोखराथोक, मेलबिसौना, कोखेआहाले हुँदै झण्डै एक घण्टाको उकालो चढेपछि ताप्लेकोट पुगिन्छ । अहिले गोरखा नगरपालिकाको वडा नम्बर २ मा पर्ने ताप्लेकोट हनुमानढोकाबाट २४ कोसकाे दुरीमा रहेको जनाउ दिने कोसेढुङ्गा बाटोको छेउमै देख्न सकिन्छ । 

काठमाण्डाैकाे हनुमानढाेका दरबार क्षेत्र

ताप्लेकोटबाट आधा घण्टाको ओरालो झरेपछि गोरखा–आरुघाट सडक किनारको झिँगटे बजार पुगिन्छ । त्यहीँबाट भीमसेन थापा गाउँपालिकाको सीमा सुरु हुन्छ । अब यात्रा अश्राङ हुँदै बोर्लाङतर्फ अघि बढ्छ । झिँगटेबाट बोर्लाङसम्मको पुरानो पैदलबाटो पनि सडकका कारण मासिएको छ । ठाउँठाउँमा बाटोको डोब र केही चौताराहरु भने देख्न सकिन्छ । पहिलो दिनको बास बोर्लाङ गाउँमा हुन्छ । 

दोस्रो दिन

बोर्लाङ गाउँबाट १५ मिनेटमाथि चढेर बोर्लाङकोटको अवलोकन गर्दै दोस्रो दिनको यात्रा सुरु गर्न सकिन्छ । यात्राको केही मिनेटमै नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको घरको भग्नावशेष बाटो किनारबाटै देख्न सकिन्छ । त्यहाँ भीमसेन थापाको पुरानो वर्गाकार दरबार थियो भन्ने पाका पुस्ताको भनाइ छ । पुराना इँटा र बुट्टेदार काठपात अहिले पनि भग्नावशेष आसपास यत्रतत्र छरिएका देखिन्छ । भीमसेन दरबारबाट केही मिनेटको पैदलयात्रापछि भने पुरानै पैदलबाटो भेटिन्छ र जङ्गलै जङ्गल आधा घण्टाको ओरालोपछि बोर्लाङको महादेवटार पुगिन्छ । 

काठमाण्डाै उपत्यकाकाे उत्तर भागमा रहेकाे पाँचमाने

जङ्गलको बीचमा पनि भीमसेन थापाकालीन हिटी चौतारा, पौवा धारो र पुरानो पौवाको अवलोकन गर्न सकिन्छ भने महादेवटारमा रहेकाे जागेश्वर माविको आडैमा भीमसेन थापाकालीन पुरानो कलात्मक धारो छ । विसं १८७६ सालमा निर्माण गरिएको धारोमा अहिले पानी त झर्दैन तर झण्डै डेढ किलोमिटरपरको मुहानबाट धारोसम्म पानी ल्याउन झिँगटीले बनाइएको नहरको भग्नावशेष भने देख्न सकिन्छ । महादेवटारबाट घाटबेसी हुँदै बूढीगण्डकी नदीको झोलुङ्गे पुल तरेपछि धादिङ जिल्लाको सिमाना सुरु हुन्छ । धादिङको कछारगाउँ हुँदै यात्रा सल्यानटारतर्फ अघि बढ्छ । 

कछारगाउँमा माझी बस्ती पनि छ । पैदलमार्गबाट यात्रा गर्नेहरुलाई काठबाट निर्मित डुङ्गाबाट नदी वारपार गराउँदाको अनुभव बटुलेका पुराना माझीहरुसँगको कुराकानी यात्राका क्रममा रोचक हुन सक्छ । अहिलेकाे त्रीपुरासुन्दरी गाउँपालिकामा पर्ने सल्यानटार आसपास प्राचीन मल्लपूरी रहेको थियो भन्ने इतिहासकारहरु बताउँछन् । 

गाेरखामा रहेकाे काेसेढुङ्गा

यात्रा अघि बढाउँदै जाँदा सल्यानटारबाट पौवा डिल–खोल्छी–कुमालखोला हुँदै त्रिपुरासुन्दरीको मन्दिर पुगिन्छ । त्रिपुरासुन्दरीलाई घर र माईती गर्ने देवीका रुपमा पनि चिनिन्छ । त्यहाँबाट हाँसे–सुकौरा–खहरे बजार हुँदै यात्रा अघि बढ्छ । खहरेबाट अचाने हुँदै चरङ्गेफेदी पुगेपछि उकालो बाटो सुरु हुन्छ । झण्डै आधा घण्टाको उकालोपछि चरङ्गे गाउँ पुगिन्छ । दोस्रो दिनको बास त्यहीँ गर्न सकिन्छ ।

तेस्रो दिन

चरङ्गे गाउँबाट थोरै उकालो उक्लिएपछि कटुञ्जे बजार पुगिन्छ । त्यहाँ ८० भन्दा बढी घरधुरी रहेका छन् । भादगाउँबाट बसाइ सरेर आएकाहरुले स्थापित गरेको कटुञ्जे बजारमा बज्राचार्य, शाक्य, मानन्धर, गुभाजू लगायतका समुदायको बसोबास रहेको छ । अहिलेकाे नेत्रावती डबजाेङ गाउँपालिका ५ मा पर्ने कटुञ्जे बजारमै निकै आकर्षक पुरानो पौवा छ । तर तीन तले कलात्मक पौवा मध्यपहाडी लोकमार्ग निर्माणका क्रममा संकटमा परेको छ । कटुञ्जेबाट यात्रा सेल्लेबजारतिर अघि बढ्छ । त्यहाँबाट भोगटेनी–थर्पु भञ्ज्याङ–भर्‍याङभुरुङसम्मको ओरालो बाटो झरेपछि नुवाकोटको सीमा सुरु हुन्छ । 

धादिङमा रहेकाे काेसेढुङ्गा

धादिङ र नुवाकोटलाई जोड्ने गरि विसं १९९० सालमा बनाइएको झोलुङ्गे पुल तरेपछि नुवाकोटको मेघाङ गाउँपालिका टेकिन्छ । मेघाङ ६ को बिन्दुकेशर मावि आसपास पृथ्वीनारायण शाहले स्थापना गरेको टक्सारको भग्नावशेष देख्न सकिन्छ । त्यहाँबाट मोटरबाटोबाट जोरचौतारा–तिँदूभट्टी हुँदै सामरी भञ्ज्याङ पुगिन्छ । सामरी पनि पुरानो बस्तीमध्येको एक हो । 

पैदलबाटो यात्रा गर्नेहरुको सुविधाका लागि बनाइएका पुरानो एक तले पाटी र दुई तल्ले जीर्ण पौवाको अवलोकन गर्दै यात्रा नुवाकोटको त्रिशूली बजारतर्फ अघि बढ्छ । काभ्रेबास, चिलाउनेबास, हुलाकघर, कागुने, देउडी र बागबानी हुँदै त्रिशुलीबजारसम्मकै पुरानो पैदलबाटो मासिएको छ । ठाउँठाउँमा पुराना चौतारा भने देख्न सकिन्छ । त्रिशूली बजारबाट बटार–गँगटे–शेरा– मालकोट हुँदै सिँदुरेफेदीसम्मको यात्रा पनि पुरानो पैदलबाटो सडकका कारण लगभग मासिएको छ । तेस्रो दिनको बास सिँदुरेफेदीमा हुन्छ । 

चौथो दिन

चौथो तथा अन्तिम दिनको यात्रा कठिन उकालो बाटोबाट सुरु हुन्छ । यो बाटो यात्रा गरेका पुरानो पुस्ताका मान्छेहरुले अझै पनि बरवण्डीको उकालोको सम्झना गर्छन् । सिँदुरेफेदीबाट चतुराले–बरबण्डी हुँदै रानीपौवासम्मको झण्डै चार घण्टाको लगातारको उकालो उक्लिएपछि रानीपौवा बजार पुगिन्छ । रानीपौवाबाट काउलेथाना हुँदै ककनीसम्मै पासाङ ल्हामू राजमार्गको किनारै किनार यात्रा अघि बढ्छ । चिसापानीधारा नजिकैबाट पुरानो पदमार्ग भेट्न सकिन्छ, जुन अहिले पनि चालु छ । 

धादिङकाे कटुञ्जे पाैवा

चिसापानीधाराबाट आधा घण्टाको यात्रापछि काठमाण्डौ र नुवाकोटको सीमानाको ठूलो खोला तरेपछि पाँचमाने भञ्ज्याङ पुगिन्छ । जहाँबाट काठमाण्डौ उपत्यकाको अधिकांश भागको अवलोकन गर्न सकिन्छ । पाँचमानेबाट ओरालो झरेपछि पुगिने जीतपुरफेदीमा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठको कलात्मक पुरानो घर बाटो छेउमै देख्न सकिन्छ । 

सवारी साधनको बाक्लो आवतजावत हुने भएकाले पैदलयात्रालाई जीतपुरफेदिमै टुङ्ग्याउन पनि सकिन्छ । हनुमानढोकासम्मै पैदलयात्रा जारी राख्ने हो भने जीतपुरफेदीबाट धर्मस्थली–बाइपास–बालाजु–सोह्रखुट्टे–क्षेत्रपाटी–नरदेवी हुँदै हनुमानढोका पुगेर ऐतिहासिक एकीकरण पदमार्गको यात्रा समापन हुन्छ । 

एकीकरण पदमार्गका मुख्य आकर्षण

नुवाकाेटकाे पाटी

पुरातात्विक क्षेत्रमा काम गर्नेहरु भन्छन्, ‘पुराना बाटोहरु पनि आफैमा ऐतिहासिक र पुरातात्विक सम्पदा हुन् ।’ यो भनाइलाई मान्ने हो भने गोरखादेखि काठमाण्डौसम्मको पुरानो बाटो पछ्याउँदै गरिने यात्रा यसै पनि रोमाञ्चक हुने भैहाल्यो । तपाईँलाई ऐतिहासिक विषयवस्तुमा रुचि छ भने त यात्रा झन् रमाइलो र ज्ञानवर्द्धक पनि हुनेछ । यात्राका क्रममा केही विषयले भने सबैको ध्यान तान्नेछ । 

कोसेढुङ्गा

कोसेढुङ्गालाई सामान्यरुपमा दुरी सूचक स्तम्भ पनि भन्न सकिन्छ । हनुमानढोकाबाट देशका विभिन्न क्षेत्रमा जाने पैदलबाटोको हरेक एक एक कोसमा कोसेढुङ्गा राखिएको पाइन्छ । हनुमानढोकाबाट गोरखासम्मको दुरी २६ कोस रहेअनुसार यो पदमार्गमा पनि २६ वटा कोसेढुङ्गा राखिएको थियो । तर धेरै ठाउँमा भने कोसेढुङ्गा मासिएका छन् । गोरखाको हनुमान भञ्ज्याङ, ताप्लेकोट, अश्राङको ठाँटी र बोर्लाङको घाँटबेसीका कोसेढुङ्गा सुरक्षित छन् । फिनामको मेलबिसौना र बोर्लाङगाउँ आसपास हुनुपर्ने कोसेढुङ्गा भने देखिँदैनन् । 

धादिङको पनि सल्यानटारको रानीपौवा र कटुञ्जे नजिकैको देउरालीमा मात्रै कोसेढुङ्गा सुरक्षित छन् । नुवाकोटमा हुनुपर्ने ६ वटा कोसेढुङ्गामध्ये एउटा पनि छैनन् । काठमाण्डौमा पनि हरेक एक–एक कोसमा हुनुपर्ने कोसेढुङ्गा भेटिँदैनन् । 

विसं १९९० मा बनेकाे पुल

त्यतिबेला कोस निर्धारण गर्दा दुई वटा विधि अपनाइने जानकारहरु बताउँछन् । उनीहरुका अनुसार कोस विभाजन रुमाल वा रुखको स्याउलाको सहायतामा गरिन्थ्यो । रुखको हाँगो भाँचेर बोक्दै अघि बढ्दा जहाँ पुगेपछि ओइलाउँथ्यो, त्यो दुरीलाई एक कोस मानिन्थ्यो । यस्तै रुमाललाई पानीमा भिजाएर टाउकोमा राख्दै अघि बढ्दा रुमाल सुक्नेबेलासम्मको दुरीलाई पनि एक कोस बराबर मान्ने चलन रहेको जानकारहरु बताउँछन् । 

उतिबेलाका स्याउले र रुमाले कोस अहिलेको आधुनिक दुरी मापन पद्धतिसँग कत्तिको मेल खान्छन् त ? पदयात्राका क्रममा तपाईँको खोजको विषय पनि बन्न सक्छ । 

पाटीपौवा, हुलाकघर र चौताराहरु

गोरखा काठमाण्डौको २६ कोस यात्राका क्रममा ठाउँठाउँमा पुराना पाटी पौवा भेटिन्छन् । बटुवालाई बास बस्नका लागि भनेर बनाइएका यस्ता पाटी पौवाका पनि आफ्नै रोचक इतिहास छन् । बाटोको पाटी एक तल्लाको हुने र पौवाहरु तीन तल्लासम्मको हुने पुराना पुस्ताको भनाइ छ । 

गाेरखाकाे भीमसेन धारा

पौवामा तल्लाअनुसार घोडा बाँध्ने ठाउँ, कैदीबन्दीहरु राख्ने ठाउँ, खाना खाने ठाउँ, सर्वसाधारण सुत्ने र विशिष्ट व्यक्तिहरु सुत्ने कक्ष बनाइएका हुन्थे । गर्मी र जाडो दुवै यामलाई उपयुक्त हुने गरि बनाइएको यस्ता पौवाहरुको अवलोकन पनि यात्राका क्रममा रोमाञ्चक पक्ष हुन सक्छ । 

हुलाकघरहरु भने मासिएका छन् तर त्यतिबेला हुलाकीको जागिर गरेकाहरुलाई भने भेट्न सकिन्छ । उनीहरुसँगको कुराकानी पनि चाखलाग्दो हुन सक्छ । 
तपाईँले पुरानो पदमार्गलाई पछ्याउन चौतारोले सहयोग गर्छ । कतै बाटो भुल्नुभयो भने परसम्म नियाल्दा जतातिर चौतारो देखिन्छ, त्यतै अघि बढ्दा बाटो बिराउने सम्भावना असाध्यै कम हुन्छ । 

अग्रज पुस्ता

सडक बाटो नखुल्दासम्म यी पैदलबाटाहरु अहिलेको राजमार्गभन्दा बढी व्यस्त हुन्थे भनिन्छ । मानिसहरु कहाँ कसरी बास बस्थे, के खान्थे, खोला र नदी कसरी तर्थे जस्ता सामान्य विषयको जवाफ खोज्दै जाँदा बाटोमा भेटिने पुरानो पुस्ताले साट्ने अनुभव र भोगाइ कुनै कथाको किम्वदन्तीभन्दा कम लाग्ने छैन ।  

अन्तिम अपडेट: जेठ २०, २०७७

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया