विराट, राेहित र विलियमसनले बनाए कीर्तिमान

 माघ १६, २०७६ बिहिबार ११:४८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – न्युजिल्याण्ड भ्रमणमा रहेको भारतीय क्रिकेट टिमले पाँच खेलको टी–२० सिरिज आफ्नो पक्षमा पारिसकेको छ । 

बुधबार भएको तेस्रो टी–२० मा भारतले न्युजिल्याण्डलाई सुपर ओभरमा पराजित गर्‍याे । भारतले दिएको एक सय ८० रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्ड एक सय ७९ रनमा सीमित हुँदा खेल सुपर ओभरसम्म पुगेको थियो ।  

यसअघि भएको पहिलो र दोस्रो खेलमा पनि भारत नै विजयी भएको थियो । अब बाँकी रहेका दुई वटा टी–२० जनवरी ३१ र फेब्रुअरी २ मा हुनेछ । 

बुधबारको टी–२० जित्ने क्रममा धेरै खेलाडीले कीर्तिमान बनाएका छन् । विराट कोहली न्युजिल्याण्डमा टी–२० सिरिज जित्ने पहिलो भारतीय कप्तान बनेका छन् । उनको कप्तानीमा रहेको टिमले सुरुवाती तीन खेलमा राम्रो प्रदर्शन गर्दै तीन खेल आफ्नो पक्षमा पारेको हो । 

भारतीय टिमले पहिलो पटक न्युजिल्याण्डमा पहिलो टी–२० सिरिज आफ्नो पोल्टामा पारेको हो । पाँच खेलको सिरिजमा भारत अहिलेसम्म ३–० ले अघि छ । 

विराटले कप्तानको रुपमा टी–२० सबैभन्दा धेरै रन बनाउने मामिलामा महेन्द्रसिंह धोनीलाई पछि पारेका छन् । उनी अब तेस्रो स्थानमा उक्लिएका छन् । टी–२० मा विराटको ११२७ रन पुगेको छ, त्यस्तै धोनीको १११२ रन छ । विराटभन्दा अघि दक्षिण अफ्रिकाका फाफ डु प्लेसी (१२७३) र न्युजिल्याण्डका कप्तान (११४८) छन् । 

रोहित शर्माले अन्तर्राष्ट्रिय टी–२० मा १०औँ पटक ‘म्यान अफ् द म्याच’ को अवार्ड जिते । उनी अब क्रिकेटको सबैभन्दा छोटो फर्म्याटमा सबैभन्दा धेरै पटक यो अवार्ड जित्ने खेलाडीको तेस्रो नम्बरमा उक्लिएका छन् । रोहितभन्दा अघि शाहिद अफरीदी (११) र विराट–मोहम्मद नाबी (१२) रहेका छन् । 

रोहितले अन्तर्राष्ट्रिय क्रिकेटमा ओपनर ब्याट्सम्यानको रुपमा १० हजार रन पूरा गरेका छन् । उनी यो उपलब्धि हासिल गर्ने चौथो भारतीय ब्याट्सम्यान बनेका छन् । 

न्युजिल्याण्डका कप्तान केव विलियमसनले बुधबारको खेलमा ९५ रनको पारी खेलेर कप्तानको रुपमा सबैभन्दा धेरै पटक अर्धशतक बनाउने मामिलामा विराट कोहली र फाफ डु प्लेसीलाई पछि पारेका छन् । विलियमसनको कुल ९ अर्धशतक भएको छ भने विराट र डु प्लेसीको समान ८–८ अर्धशतक छ । 

न्युजिल्याण्डका ओपनर ब्याट्सम्यान मार्टिन गप्टिल अन्तर्राष्ट्रिय क्रिकेटमा २५०० रन बनाउने तेस्रो खेलाडी बनेका छन् । उनले यो उपलब्धि हासिल गर्ने क्रममा रोहित शर्मालाई पछि पारेका छन् । 

न्युजिल्याण्डका कप्तान केन विलियमसनले टी–२० मा १६०० रन पूरा गरेका छन् । अब उनले धोनी र क्रिस गेललाई पनि पछि पारेका छन् । विलियमसनको १६६५ रन भएको छ भने गेलको (१६२७) र धोनीको (१६१७) रन छ ।

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया