खर्च धेरै भयाे, महंङ्गो शासकीय स्वरुप परिवर्तन गर्नुपर्छ : नेकपा सांसद तामाङ

 फागुन १३, २०७६ मंगलबार १७:३६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - राज्यले धान्न नसक्नेगरी साधारण खर्चको अनुपात बढ्दै गइरहेकोले महंगो शासकीय स्वरुप परिर्वतन गर्नुपर्ने प्रस्ताव सत्तारुढ दलकै सांसदले गरेका छन् । 

नेकपाका सांसद शेरबहादुर तामाङले राष्ट्रपतीय शासन प्रणाली अवलम्बन गर्नुपर्ने प्रस्ताव गर्नुभयाे । प्रतिनिधिसभाको मंगलबारको बैठकमा उहाँले राज्यले धेरै ठूलो धनराशी खर्च गरेर पाल्नुपर्ने राज्य संरचनालाई घटाउनुपर्ने तर्क गर्नुभयाे। 

उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नेगरी संविधान संशोधन गरिनुपर्ने आवश्यकता पनि औँल्याउनुभयो । संविधान बनाउने क्रममा शासकीय स्वरुपका सम्बन्धमा चुकेको भन्दै उहाँले अब भने राष्ट्रपतीय शासन प्रणालीका बारेमा बहस गर्नुपर्ने बताउनुभयो । 

राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन कार्यदल गठन भएका बेला सांसद तामाङले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने गरी शासकीय स्वरुपको व्यवस्थामा पनि संसोधन गर्न प्रस्ताव गर्नुभएको हो ।

राज्यको साधरण खर्च ६० प्रतिशतभन्दा बढी भएको उल्लेख गर्दै उहाँले साधारण खर्च बचाएर विकास खर्चमा लगाउन सबैभन्दा पहिला शासकीय प्रणालीमा परिर्वतन गर्नुपर्ने ‍तर्क गर्नुभयाे । शासकीय प्रणाली परिवर्तन भएमा निर्वाचन जसरी पनि जित्नुपर्ने र त्यसका लागि जति पनि पैसा खर्च गर्ने प्रणाली र निर्वाचन जितेपछि जनताप्रति नभइ निर्वाचन खर्चप्रति उत्तरदायी हुनुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो । 

उहाँले भ्रष्टाचार, कमिसनखोरी, अनियमितता र बेरोजगारीका कारण आम नागरिकमा असन्तुष्टि बढ्दै गएको उल्लेख गर्दै शासकीय स्वरुप परिर्वतन गरी देशको समृद्धिको लागि सबै एक भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।  

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया