प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
केही समयअघि काठमाण्डौको सडकमा गाडीहरुको चाप निकै हुने गर्दथ्यो। भाडाका गाडीहरु, कारहरु, मोटरसाइकल, मालवाहक गाडीहरुको लर्को मिलाउन सडकमा खटिएका ट्राफिक प्रहरीलाइ हम्मेहम्मे पर्दथ्यो ।
तर अहिले कोरोनाको जोखिम कम गर्नको लागि सरकारले गरेको लकडाउनका कारण काठमाण्डौ लगायत देशैभरका सडक खाली छन् ।
सडकमा गाडी मात्रै होइन मानिसहरु पनि कम हिंडिरहेका छन् । सडकमा गुड्ने गाडीको व्यवस्थापन गरि सडक अनुशासन कायम गर्ने ट्राफिक प्रहरी यतिबेला सडक खाली हुँदा के गर्दै होलान् भन्ने सबैलाइ लाग्न सक्छ । सडकमा गाडी र सडक प्रयोगकर्ता नभएपछि खाली बसेका होलान् ट्राफिक प्रहरी भन्ने धेरैले सोचेको पनि हुनसक्छ, तर त्यसो होइन ।
लकडाउनभन्दा अघि ट्राफिक व्यवस्थापनका लागि सडकमा ट्राफिक प्रहरीका १५ सय जनशक्ति खटिएका हुन्थे र अहिले लकडाउनको बेला सडक खाली रहँदा पनि ट्राफिक प्रहरीका १५ सय जनशक्ति नै खटिएको ट्राफिक प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
अहिले ट्राफिक प्रहरीले आफ्नो चेकिङ पोस्टलाई मुख्य सडकसँगै सहायक र भित्री बाटोमा पनि बढाएको उहाँले बताउनु भयो । मुख्य सडकका चोकहरुमा पिक आवरमा खटिने ट्राफिक जनशक्तिलाई घटाएर सहायक र भित्री बाटोमा खटाएको श्रेष्ठको भनाइ छ ।
यसरी सडकमा खटिएका ट्राफिक प्रहरीले अहिले सडकमा गुडिरहेका अत्यावश्यक गाडीहरू बाहेक अरु सडकमा निस्किएका गाडी र पैदल यात्रीलाइ जाँच गरिरहेको छ । ट्राफिक प्रहरीले जिल्ला प्रसाशन कार्यालयले पास दिएका र अत्यावश्यक कामका लागि निस्केका गाडीहरू र मानिसलाई जाँच गर्दै आवश्यकता हरेर मात्रै छोड्ने गरेको छ । त्यससँगै धेरैलाई सम्झाएर पठाइरहेको छ ।
मास्कको प्रयोग गरेर सडकमा खटिएका ट्राफिक प्रहरीले आफ्नो सुरक्षाका लागि २ मिटरको दुरी कायम गरि काम गरिरहेका छन् भने बेलाबेलामा ब्यारेकको सरसफाइ गरिराख्ने , हात धोइराख्नुका साथै उनिहरुले सुत्ने ओछ्यानको दुरी पनि बढाएका छन् ।
केसी उज्यालाेमा कार्यरत हुनुहुन्छ ।