वीर अस्पतालमा बिरामीलाई सकस, टोकन प्रणालीले काम गर्न छोड्यो

 साउन १३, २०७५ आइतबार ११:१७:४ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाडौं – बुवालाई बाथ रोगले च्यापेपछि सिन्धुलीकी शोभा बस्नेत उपचार गराउन बिहान नौ बजे वीर अस्पताल पुग्नुभयो । आधा घण्टा लाइनमा बसेपछि बल्ल टिकट पाउनुभयो र टिकट लगेर दोस्रो तल्ला जानुभयो । त्यहाँ उहाँभन्दा अघि नै धेरै बिरामी हातमा टाेकन बोकेर लाइनमा थिए । उहाँ पनि लाइनमा बस्नुभयो ।

लाइनमा लागेको एक घण्टापछि बल्ल पालो आयो र  भित्र पस्नुभयो । डाक्टरले तपाईं गलत लाइनमा लाग्नुभएछ, यहाँ त मधुमेहका बिरामीलाई जाँच गरिन्छ भनेर बाहिर पठायो । अनि उहाँ निराश भएर फेरि अर्को लाइनमा उभिनुभयो र घण्टौं कुरेपछि बल्ल पालो आयो ।

काठमाडौं रानीबारीका ६० वर्षीय महेन्द्र थापा स्वास्थ्य जाँच गराउनको लागि टिकट काट्न ओपीडी टिकट काउण्टरको लाइनमा उभिनुभयो । तर उहाँको बृद्ध शरीरले हलभित्रको गर्मी सहेर लाइनमा उभिरहन सकेन । उहाँ थुचुक्क त्यहीँ बस्नुभयो । सँगै लाइनमा उभिएका एकजनाले उहाँलाई उठाए र टिकट काटिदिए ।

एक्लै आउनुभएका थापाले भन्नुभयो, ‘लाइन नलागेरै टिकट पाउन पनि ७० वर्ष पुग्नुपर्दो रहेछ । उमेर हेरेर भन्दा पनि सक्ने नसक्ने हेरेर पो सेवा दिने हो त सरकारले ।’

सिन्धुलीकी बस्नेत र काठमाडौंका थापा त प्रतिनिधि पात्र मात्र हुन् । अस्पतालमा टिकट काट्न, टिकट काटेर डाक्टरलाई भेट्न र स्वास्थ्य जाँच गराउन धेरैलाई यस्तै सकस र अलमल हुने गरेको छ ।

स्वास्थ्य जाँच गर्ने कोठामा बाहिर केको लागि जाँच हुने भनेर प्रष्ट नलेख्दा समस्या हुने गरेको बिरामीको गुनासो छ । बिरामीले कुन रोगको लागि कुन डाक्टरलाई भेट्ने, डाक्टर आउने समय, कहाँ पैसा तिर्ने, कहाँ एक्सरे, भिडियो एक्सरे गर्ने, रिर्पोट कहाँबाट लिने, ओपीडीमा कुन रोग कहाँ गएर जँचाउने लगायतको सेवालाई अस्पतालले डिजिटल डिस्प्लेमा देखाउने भनेपनि त्यसो हुन सकेको छैन ।

यसअघि गगन थापा स्वास्थ्य मन्त्री हुँदा वीर अस्पतालमा बिरामीले लाइनमा बस्नुपर्ने झण्झटलाई अन्त्य गर्न टोकन प्रणालीको व्यवस्था गरिएको थियो । तर अहिले केही महिना यता बिग्रेको टोकन मेसिन मर्मत हुन नसकेर सेवाग्राहीले लाइनमा बस्नुपर्ने पुरानै समस्या भोगिरहेका छन् ।

ओपिडीमा बिरामीले कसरी सेवा लिने ?

कतिपय बिरामीहरु तथा बिरामी आफन्तहरु  टिकट काउण्टरबाट टिकट लगेपछि सोध्दै नसोधेर जहाँ भिड देख्यो त्यहीँ लाग्ने गर्छन् । वीर अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेत भन्नुहुन्छ, ‘हामीहरुले सोध्ने बानीको विकास गनुपर्छ । प्रत्येक ओपीडी जाँच गर्ने कोठामा हामीले सहयोगी राखेका छौं । उहाँहरुलाई सोधेर पनि जानकारी लिन सकिन्छ ।’

उहाँले अस्पतालको कमजोरी स्वीकार्दै भन्नुभयो, ‘अहिले अस्पतालको केही भौतिक संरचना निर्माण भैरहेकाले पनि बिरामीहरुलाई समस्या परेको छ । तर चाँडै नै काम सकेर यस्ता समस्या समाधान हुनेछन् ।’ 

अब उपचार गर्न आउने बिरामीले कहाँ जाने र कसलाई भेट्ने अन्यौलबाट चाँडै छुटकारा पाउने पनि उहाँले दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘लेखपढ गर्न नजान्ने बिरामीहरुलाई पनि अन्यौल नहोस् भनेर अडियो भिडियो डिजिटल डिस्प्लेको व्यवस्था हुदैछ । मर्मतको कार्य सक्ने बित्तिकै यसको व्यवस्था गर्नेछौं ।’
 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया