राहत वितरणमा विवाद: नौ राउन्ड हवाई फायर, डीएसपीसहित आठ जना घाइते

 बैशाख २२, २०७७ सोमबार १९:४४:३९ | आशिष विश्वकर्मा
unn.prixa.net

सिरहा - सिरहाको मिर्चैया नगरपालिका- ७ फुलबरियामा राहत वितरणको क्रममा झडप हुँदा प्रहरी डीएसपीसहित आठ जना घाइते भएका छन् । 

राहत पाउनेमा नाम समावेश नगरेको विरोधमा झडप हुँदा प्ररहीले हवाई फायर र अश्रुग्यास प्रहारको गरेको थियो । झडपमा घाइते भएका पाँच जना प्रहरी र तीन जना स्थानीयको स्थानीय स्वास्थ्यकेन्द्रमा उपचार भइरहेको छ ।

विरोध भैरहँदा वडा कार्यालयले राहत वितरण सुरुगरेपछि स्थानीयले ढुङ्गामुढा गरेका थिए । झडप नियन्त्रणभन्दा बाहिर गएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन ९ राउण्ड हवाई फायर र ३ राउण्ड अश्रुग्याँस प्रहार गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी सन्तु जैसवालले जानकारी दिनुभयो ।

स्थानीयको अनुसार राहात वितरणका विषयमा वडा कार्यलयमा विगत एक हप्तादेखि मतमतान्तर हुँदै आएको थियो । जनप्रतिनिधि र दलका प्रतिनिधिबीच मत नमिलेपछि आइतबार इलाका प्रहरीमा सबै दलका प्रतिनिधि र जनप्रतिनिधिबीच समझदारी भएको थियो ।

तर, प्रहरीले करकापमा पारेर दलहरुलाई सहमतिगर्न लगाएको दलका एक प्रतिनिधिले बताउनु भयो।

उहाँले भन्नुभयो, ‘वडाअध्यक्षले आफ्नो आफन्त र आसेपासेका मात्र नाम राख्नुभएको छ । पाउनुपर्ने गरिब, विपन्नको नामभने छुटाएकोमा हामीले विमति राख्दै आएका थियौँ।’

संघीय समाजवादीका प्रतिनिधि हनुमान शाहले वडाअध्यक्षका कारण झडप भएको बताउनुभयो । उहाँले वडाअध्यक्षले दलीय प्रतिनिधिलाई बेवास्ता गर्दै आफ्ना आफन्तलाई मात्र राहत वितरण गर्न थालेपछि जनता आक्रोशित भएको बताउनुभयो । उहाँले यो पटक २ सय ७५ जनाको नाममा राहत सामग्री खरिद भएको पनि जनाउनु भयो ।

वडाध्यक्ष रामकुमार यादवले भने नगरपालिकाबाट आएको पहिलो चरणमा २५ घर परिवारलाई  राहत प्याकेज विभिन्न दलका प्रतिनिधि, समाजसेवी, वडाका सदस्यहरुको रोवहरमा राहत वितरण गरेको जानकारी दिनुभयो ।

प्रदेश सरकार र मिर्चैया नगरपालिकाद्वारा उपलब्ध गराएको दोस्रो चरणको राहत वितरण गर्ने क्रममा केही दलकै प्रतिनिधिहरुले स्थानीयलाई उचालेर राहत वितरणमा अवरोध गरेको आरोप लगाए । 

वडाध्यक्ष यादवले पटक–पटक आफूले अहिले छुट्न गएका गरिब विपन्न परिवारको लागि चाँडै अर्को व्यवस्था गर्ने प्रतिबद्धता जनाए पनि नेताको उक्साहटमा ढुङ्गामुढा भएको आरोप लगाउनुभयो । 

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले घटना साम्य बनाई राहत वितरणको वातावारण सामान्य बनाएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

आशिष विश्वकर्मा

आशिष विश्वकर्मा सिरहाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया