धनगढीका अधिकांश क्षेत्र डुबानमा, ३ सय घरमा पानी पस्यो (फोटो कथा)

 साउन २६, २०७७ सोमबार १७:५४:५६ | सीताराम ओझा
unn.prixa.net

कैलाली – अविरल वर्षाका कारण कैलालीको धनगढी उपमहानगरपालिकाका अधिकांश भाग डुबानमा परेका छन् । धनगढी बजारको मूल सडक अन्तर्गतको प्रदेश सभादेखि एलएन चाेकसम्मको सडक पूरै जलमग्न भएको छ ।

त्यस्तै प्रदेश सभा चाेकदेखि पार्कसम्म जोड्ने सडक जलमग्न हँदा आन्तरिक मामिला तथा कानुन मन्त्रालय आउजाउ गर्न कठिन भएको छ ।

प्रदेश सभा जोड्ने सडक र परिसर पूरै जलमग्न छ । सामाजिक विकास मन्त्रालय जोड्ने सडक पनि बन्द भएको छ । धनगढी उपमहानगरपालिका १ काे शिवनगर,  सेतो पुल, वडा नम्बर ७ क्याम्पस रोड, वडा नम्बर १५ कनरीका अधिकांश घर डुबानमा परेका छन्  ।

कनरी गाउँमा  खुटिया नदीको पानी पसेपछि बस्ती नै डुबानमा परेको छ । धनगढी ३ विशालनगर, वडा नम्बर ४ को बसपार्क तथा शिवपुर धाम क्षेत्र पनि जलमग्न भएको छ । नैनादेवी मार्गमा रहेको सशस्त्र प्रहरी बलको ३४ नम्बर गण पनि जलमग्न भएको छ ।

धनगढीको क्याम्पस रोड, शिवनगर, एलएन चोक, पार्क चोक, विशालनगर, मिलन चोक, चौराह, उत्तरबेहडी, चटकपुरलगायतका अधिकांश क्षेत्रमा डुबान भएको छ । विशालनगरमा झण्डै आधा दर्जन परिवार विस्थापित भएको स्थानीय टेकराज जोशीले बताउनुभयाे । घरमा पानी पसेपछि छिमेकी र आफन्तको घरमा बस्नुपरेको उहाँले सुनाउनुभयाे । 

सबैभन्दा बढी धनगढीको बजार क्षेत्र र वरपर रहेका वडामा डुबान भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक (इन्सपेक्टर) हिक्मत थापाले बाढी बस्तीमा पसेपछि झण्डै तीन सय घरमा पानीमा पसेको बताउनुभयाे । 

‘बजार क्षेत्र जलमग्न भएको छ भने तीन सय घरमा पानी पसेको छ’, प्रहरी निरीक्षक थापाले भन्नुभयाे, ‘पानी पसेपछि ५५ घरमा क्षति पुगेको छ । बाँकी क्षतिको विवरण आएको छैन ।’ धनगढी उपमहानगरपालिका र नगर विकास समितिकै संलग्नतामा खोलानाला अतिक्रमणको चपेटामा परेपछि धनगढीमा डुवानको समस्या बढ्दै गएको छ ।

धनगढीमा सडकको पानी निकासका लागि बनाइएका नालीसमेत काम नलाग्ने भएका छन् । ती नालीले सडकको पानीसमेत थेग्न सकेका छैनन् भने पानी निकास हुने नाला र कुलोमा धनगढी उपमहानगरलगायतका सरकारी निकायले नै सडक बनाएका छन् ।   

तस्बिर : सीताराम ओझा

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया