प्रदेश सरकारले निर्णय गरेको पाँच महिना बितिसक्दा पनि २० वटा भेन्टिलेटर ल्याउन सकेन

 भदौ २७, २०७७ शनिबार १७:४८:३२ | सीताराम ओझा
unn.prixa.net

कैलाली – सुदूरपश्चिम सरकारले निर्णय गरेको पाँच महिना बितिसक्दा पनि २० वटा भेन्टिलेटर  ल्याउन सकेको छैन ।

सुदूरपश्चिम सरकारको मन्त्री परिषद्को बैठकले गएको चैत २७ गते सेती प्रादेशिक अस्पताल र महाकाली अस्पतालका लागि तीन/तीन तथा पहाडी ७ जिल्ला अस्पतालका लागि दुई/दुई वटा भेन्टिलेटर खरिद गर्ने निर्णय गरेको थियो । निर्णय भएको पाँच महिना भएको छ । तर भेन्टिलेटर आपूर्ति भएका छैनन् । 

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका सूचना अधिकारी लक्ष्मी श्रेष्ठले भेन्टिलेटर धनगढी नआएको जानकारी दिनुभयो । ‘केहि दिनदेखि हामीहरु त्यसमा लागिरहेको छौं, काठमाण्डौमा आइपुगेको भन्ने छ केही दिनमा धनगढी आउँछ होला’ श्रेष्ठले भन्नुभयो । 

पाँच करोड ६५ लाख ५० हजारमा सम्झौता भएका २० वटा भेन्टिलेटर कहिले धनगढी पुग्ने हुन् र कहिले सञ्चालनमा ल्याइने हो भन्ने विषय अनिश्चित छ । श्रेष्ठले भन्नुभयो, ‘धनगढीसम्म आपूर्तिकर्ताले ल्याउने हो, अन्य ठाउँका लागि पुनः योजना बनाउँदैछौ ।’

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालय मातहतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त प्रमुख डाक्टर गुणराज अवस्थीले गएको साउन २९ गते ६० दिनभित्र भेन्टिलेटर धनगढी ल्याइपुर्याउने गरी सम्झौता भएको बताउनुभयएको थियो । याे समयभित्र भेन्टिलेटर आपूर्ति नभए आपूर्तिकर्तालाई कारवाही गरिने पनि बताउनुभएको थियो ।

तर ठेक्का  सम्झौता भएको ६० दिन बितिसकेको छ । न त कारवाही प्रक्रिया अगाडी बढेको छ । न त उपकरणहरु नै धनगढी भित्रिएका छन् । गएको असार २९ गते हस्पिटेक ईन्टरप्राईजेज प्रालि काठमाण्डौ र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबीच २० वटा भेन्टिलेटर खरिदको सम्झौता भएको थियो ।

प्रदेशभर अहिले १२ वटा भेन्टिलेटर मात्र उपलब्ध छन् । कोरोनाका गम्भीर बिरामीको संख्या वृद्धि हुँदै गए भेन्टिलेटर अभावका कारण समस्या हुने देखिएको छ ।
 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया