आईपीएल : भिलियर्सको उत्कृष्ट ब्याटिङमा बैंग्लोरले राजस्थानलाई हरायो

 कात्तिक १, २०७७ शनिबार २०:११:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको छ ।

राजस्थानले दिएको १ सय ७८ रनको लक्ष्य बैंग्लोरले ३ विकेट गुमाएर दुई बल बाँकी छँदै भेट्टायो । बैंग्लोरको जितमा एबीडी भिलियर्सले उत्कृष्ट ब्याटिङ गरे । टिम धर्मराएको अवस्थामा ब्याटिङमा आएका भिलियर्सले २२ बलमा नटआउट ५५ रन बनाए ।

१८ औं ओभरसम्म खेल राजस्थानको पक्षमा थियो । दुई ओभरमा बैंग्लोरलाई ३५ रनको आवश्यकता थियो । तर जयदेव उनाद्कटको १९ औं ओभरमा एबीडी भिलियर्सका तीन छक्कासहित बैंग्लोरले २५ रन बनाएपछि खेल बैंग्लोरको पक्षमा गएको थियो ।

बैंग्लोरका लागि कप्तान विराट कोहलीले ४३ र देवदत्त पडिकलले ३५ रन बनाए । एरोन फिन्च १४ रनमा आउट भए । यसअघि यूएईको दुबई क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७७ रन बनायो ।

उसका लागि कप्तान स्टिभ स्मिथले सर्वाधिक ५७ रन बनाए । यस्तै रोविन उथापाले ४१,जोस बटलरले २४, राहुल तेवाटियाले १९, बेन स्टोक्सले १५ र सञ्जु सामसनले ९ रन बनाए । बैंग्लोरका क्रिस मोरिसले ४ र यजुवेन्द्र चहालले २ विकेट लिए । जितसँगै बैंग्लोर १२ अंकसहित तेस्रो स्थानमा कायमै छ । समान १२ अंक नै भए पनि रन रेटका आधारमा मुम्बइ पहिलो र दिल्ली दोस्रोे स्थानमा छन् । राजस्थान ६ अंकसहित सातौँ स्थानमा छ ।

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया